आठराई त्रिबेणीको नीति ः बसाँईसरी पालिका आउने परिवारलाई ५० हजार,उपभोक्ता समितिमा कम्तिमा ७० प्रतिशत महिला अनिवार्य

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अन्य पालिकाबाट बसाँई सरी आठराई त्रिबेणी गाउँपालिका आउने प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

पालिकाले आगामी आर्थिक बर्षका लागि‘पूर्वाधार विकास गाउँपालिकाको आवश्यकता,दिगो विकास पहिलो प्राथमिकता’नीति तय गरेको छ । गाउँसभाको बर्खे अधिबेशनमा पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले आगामी आर्थिक बर्ष २०८१।८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३१ वटा मुख्य बिषयलाई आधार मानी नीति कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले उपभोक्तामार्फत सञ्चालन हुने कार्यक्रममा उपभोक्ता समितिमा ७० प्रतिशत महिलाको अनिवार्य सहभागिता गराउने नीति अख्तियार गरेको छ । पालिकाले उपभोक्ता समितिको दर्ता र सम्झौता वडा कार्यालयबाटै गर्ने व्यवस्थाको घोषणा गरेको छ । पालिकाले गाउँपालिका भित्रका सबै माध्यमिक बिद्यालय,वडा कार्यालय,स्वास्थ्य चौकी लगायत पालिका मातहतका सबै निकायहरुमा इन्टरनेट जडान गर्ने व्यवस्था गरेको जनाएको छ ।

पालिकाले प्रत्येक चार–चार महिनामा पालिका भित्रका प्रत्येक माध्यमिक बिद्यालयहरुमा ‘बिद्यार्थीसंग पालिका अध्यक्ष’कार्यक्रम सञ्चालन गर्ने भएको छ भने प्रत्येक चार–चार महिनामॉजनतासंग पालिका अध्यक्ष’कार्यक्रमको समेत घोषणा गरेको छ । पालिका भित्रका प्रत्येक माध्यमिक बिद्यालयहरुमा पालिकाले पहिचान गरेको क्षेत्रमा एक आर्थिक बर्ष भित्र एकहजार बिरुवा रोपणको कार्यक्रम पालिकाले अघि सारेको छ । गाउँपालिकाले पालिका भित्रका मुख्य सडकलाई बाह्रैकाल सञ्चालन हुनेगरी मर्मतसम्भार तथा स्तरोन्नतीका कार्य अघि बढाउने घोषणा गरेको छ । पालिकाका ५ वटै वडालाई बिद्युतको राष्ट्रिय प्रसारणमा जोडी ‘उज्यालो गाउँपालिका’ बनाउने पालिकाको घोषणा गर्दै पालिकाले घरायसी प्रयोजनमा खपत हुने बिद्युत महशुल निःशुल्क गर्ने विगतको योजना तथा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

पालिकाले पालिकाका सबै घरधुरीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’अभियान अघि बढाउने घोषणा गरेको छ । जनताको जीवनस्तरमा सुधार,आम्दानी र रोजगारी बृद्धिका कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै पालिकाले योजना सञ्चालन गर्दा स्थानीय सहभागिता जुट्ने दीर्घकालिन योजनालाई महत्व दिने भएको छ । पालिकाले प्रत्येक वडाका कम्तिमा ५० घरको फुसको छानो बिस्थापन कार्यक्रम अघि बढाउने गरी बजेटको व्यवस्थापन गरेको जनाएको छ । पालिका भित्रका कडा रोग लागेका विपन्न परिवारलाई २० हजार रुपैयाँ सम्म सहयोग रकम उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ ।

पालिकाले ‘जेष्ठ नागरिकसंग जनप्रतिनिधि कार्यक्रम’मार्फत अशक्त,अपाङ्ग तथा जेष्ठ नागरिकहरुको घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ भने एमबिबिएस पढ्ने बिद्यार्थीलाई कूल रमकको ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा समेत गरेको छ । पालिकाले ‘जनप्रतिनिधिसंग जनताको स्वास्थ्य’कार्यक्रम अन्र्तगत प्रत्येक तीन–तीन महिनामा ३० बर्ष माथिका सबै नागरिकको सुगर तथा प्रेशर जाँच गर्ने भएको छ । पालिकाले कोशी प्रदेश सरकार र करुणा फाउण्डेसन समेतको सहयोगमा नवजात शिशुमा जन्मदोष परीक्षण गरी जन्मदोष पहिचान भएका शिशुको स्वास्थ्य उपचार,बिद्यालयमा रहेका १० बर्ष मुनिका बालबालिकाको स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढाउने भएको छ । पालिकाले पालिकाभरीका बिपन्न र सुकुम्बासीलाई आवासका लागि जग्गाको व्यवस्थापन गर्ने प्रकृयाको थालनी गर्ने भएको छ । पालिकाले प्रत्येक वडामा कम्तिमा एउटा इन्डोर हल निर्माण गर्ने घोषणा गरेको छ । न्याय सम्पादन सम्वन्धी नीति तय गर्दै पालिकाले ‘गरौं मिलाप,नगरौं बिलाप’भन्ने नारा अघि सारेको छ । बिपन्नलाई सम्पन्न बनाउन सहयोग गर्ने तथा अनाथ र टुहुरा बालबालिकाको संरक्षण र पालपोषण गर्ने व्यक्तिलाई पालिकाले सम्मान गर्ने भएको छ ।

 

Similar Posts