मैवाखोलाको बजेट ४५ करोड १९ लाख

अरुलाई पनि शेयर गरौ !

चन्द्र पन्दाक
ताप्लेजुङ,असार ९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न गाउँसभाको १५ औं अधिवेशनमार्फत गाउँपालिकाले उक्त बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा अगामी आर्थिक वर्षका लागि सात करोड ६५ लाख ३१ हजार ३२ रुपैयाँ बढी बजेट ल्याएको छ । अधिवेशनमार्फत गाउँपालिकाले सार्वजनिक गरेको कुल बजेटमध्ये चालूतर्फ २६ करोड ५० लाख ९८ हजार २३२ रुपियाँ र पुँजीगततर्फ १८ करोड ६८ लाख ४५ हजार ८ सय रुपैयाँ रहेको छ ।
आगामी आवका लागि गाउँपालिकाले ल्याएको बजेटको स्रोतमा सङ्घीय सशर्त अनुदानततर्फ १६ करोड ६० लाख ७२ हजार, वित्तीय समानीकरणतर्फ नौ करोड ३३ लाख, राजस्व बाँडफाडतर्फ छ करोड ९६ लाख र विशेष अनुदानको एक करोड ८० लाख रुपैयाँ रहेको छ ।
यस्तै प्रदेश वित्तीय समानीकरणतर्फ ५५ लाख ४९ हजार, सशर्त अनुदानतर्फ ४७ लाख २२, राजस्व बाँडफाडको २२ लाख र समपुरक अनुदानतर्फ एक करोड रुपैयाँ बजेट रहेको छ । गाउँपालिकाको बजेटअन्तर्गत नै अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एचपिएफ र जिडब्लुटीमार्फत तीन करोड ७१ लाख १२ हजार ३ सय ३२ रुपैयाँ रहेको छ । बाँकी बजेट आन्तरिक आय र आन्तरिक मौज्दातको बजेट रहेको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटबाट सामाजिक विकासअन्तर्गत शिक्षामा दुई करोड चार लाख ७९ हजार ७ सय ९० रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै स्वास्थ्य तथा पोषणमा ७४ लाख ४७ हजार ७ सय रुपैयाँ, खानेपानी सरसफाइमा तीन करोड ७१ लाख ५० हजार ८ सय रुपैयाँ विनियोजन भएको छ ।
खेलकुदतर्फ ७५ लाख रुपैयाँ, लक्षित वर्ग तथा सामाजिक समावेशीकरणमा ७९ लाख ४३ हजार ८ सय ४२ रुपैयाँ, भाषा कला, साहित्य संस्कृति संरक्षणमा दुई लाख र आयुर्वेदतर्फ पाँच लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक विकासअन्तर्गत कृषि विकासमा ८७ लाख ९९ हजार, पशुपन्छ विकास कार्यक्रममा २२ लाख ५० हजार, सहरी विकासमा चार लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उद्योग व्यवसाय उद्यम विकासमा ४९ लाख, पर्यटन विकासमा ३४ लाख, अध्यक्ष रोजगार कार्यक्रममा ६० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रममा ४७ लाख ४८ हजार रुपैयाँ बजेट गाउँपालिकाले विनियोजन गरेको छ । पूर्वाधार विकासअन्तर्गत सडक तथा पुलपुलेसामा दुई करोठ ५७ लाख ५० हजार विनियोजन भएको छ । भवन तथा बस्ती विकास योजनामा आठ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सूचना, सञ्चार र प्रविधिमा २० लाख रुपैयाँ, वन तथा जैविक विविधतामा तीन लाख २१ हजार ९०० रुपैयाँ, भू–तथा जलाधार व्यवस्थापनमा एकलाख ५० हजार विनियोजन भएको छ । वातावरण स्वस्छता तथा फोहोरमैला व्यवस्थापन योजनामा छ लाख रुपियाँ, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन योजनामा १८ लाख रुपैयाँ बजेट रहेको छ । सुशासन तथा संस्थागत विकास योजनातर्फ सात करोड १० लाख ३८ हजार रुपैयाँ विनियोजन भएको छ ।
सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा प्रवक्ता एवम् वडा १ वडाध्यक्ष चन्द्रकुमार तामाङले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम अधिवेशनमा प्रस्तुत गर्नुभएको छ । गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०८१ र प्रवक्ता चन्द्रकुमार तामाङले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक गाउँसभाले पारित गरेको छ ।
गाउँसभामा वडा २ वडाध्यक्ष नरेन्द्र लिम्बूले आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिका बजेट तथा कार्यक्रम विनियोजनका लागि आर्थिक सर्वेक्षण गर्ने पहिलो स्थानीय तह भएको पनि गाउँपालिकाले दावी गरेको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts