|

ताप्लेजुङका पहिरो पीडितलाई राहत वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ७ । ताप्लेजुङका पहिरो पीडित परिवारलाई राहत वितरण गर्न सुरु गरिएको छ । जिल्ला विपत् व्यवस्थापन कोषमार्फत बाढीपहिरो पीडित परिवारलाई राहत रकम वितरण गर्न सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनसुनजन्य विपद् अर्थात बाढीपहिरोबाट घरबार बिहीन भएका परिवारलाई राहत रकम वितरण गर्न सुरु गरिएको हो । बाढीपहिरोका कारण घर पूर्णरुपमा क्षति भएका परिवारलाई प्रतिपरिवार १५ हजार रुपियाँका दरले राहत रकम वितरण गरिँदै आएको प्रजिअ आचार्यले बताउनुभयो ।
उहाँका अनुसार घर पूर्णरुपमा क्षति भएका सिरिजंघा गाउँपालिकाका ११ परिवारलाई जिल्ला विपत् व्यवस्थापन कोषबाट बिहीबार राहत रकम वितरण गरिएको छ । प्रतिपरिवार १५ हजारका दरले एकलाख ६५ हजार रुपियाँ राहत सम्बन्धित गाउँपालिकामार्फत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित आठ परिवारलाई पनि बिहीबार नै राहत रकम उपलब्ध गराइएको छ । घर पूर्णरुपमा क्षति भएका आठ परिवारका लागि १५ हजारका दरले एक लाख २० हजार रुपियाँ रकम गाउँपालिकामार्फत वितरण गर्ने गरी उपलब्ध गराएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।
बाढीपहिरोबाट घर पूर्णरुपमा क्षति भएका बाँकी परिवारलाई पनि क्रमशः राहत रकम उपलब्ध गराइने जिल्ला विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएको प्रजिअ आचार्यले बताउनुभयो । गत जेठ ३० गतेदेखि अविरल परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा गरी २२ घर पूर्णरुपमा क्षति भएका छन् । त्यस्तै १४ घर उच्च जोखिम र ५५ घर जोखिममा रहेको समितिले जनाएको छ ।
यसैगरी बाढीपहिरोमा परी तीन महिला र दुई पुरुष गरी पाँच जनालाई ज्यान गुमाएका छन् । दुईजना घाइते भएका विपत् व्यवस्थापन समितिको तथ्यांक रहेको छ । चौपाया ९२ वटा मरेका छन् भने ४१ वटा पन्छी मरेका छन् । दुईवटा मोटर गुड्ने (मोटरेवल) पुल, झोलुंगे पुल एक र सिमेन्ट ढलान भएको एउटा मानिस हिड्ने पुल पूर्णरुपमा क्षति भएको छ ।
एउटा क्रसर उद्योग, माइक्रो हाइड्रोपावर र लिम्बू साँस्कृति सङ्ग्रहालय बाढी पहिरोको जोखिममा रहेको पनि समितिले जनाएको छ । यता मनसुनजन्य विपतले पु¥याएको क्षतिको विवरण थपघट हुन सक्नेसमेत जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बिहीबारदेखि भने वर्षा बादलसहित प्रतिकूल मौसममा केही सुधार हुँदै गएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts