ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुद्धारा बाढी र पहिरो बारे सरकारलाई १० बुँदे ध्यानाकर्षण पत्र

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ५ । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले ताप्लेजुङका बाढी तथा पहिरो पीडित परिवारका पक्षमा नेपाल सरकारलाई १० बुँदे ध्यानाकर्षण गराउनु भएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भेटी ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले राहत,अस्थायी तथा स्थायी आवास,स्थायी र एकीकृत बस्ति व्यवस्थापन सहितका बिषयमा ध्यानाकर्षण गराउनु भएको हो । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सहित सांसदहरु लिलादेवी बोखिम र उर्मिला थेबेमार्फत सरकारलाई उक्त ध्यानाकर्षण पत्र बुझाईएको सांसद भट्टराईका स्वकीय सचिव प्रेम गुरागाँईले जानकारी दिनुभयो ।

ध्यानाकर्षण पत्रमा बाढी र पहिरोबाट मानवीय क्षति भएका परिवारका सदस्यलाई तत्काल राहत उपलब्ध गराउन तथा घाइतेहरुको उपचारको उचित प्रवन्ध गर्न,आवास गुमाएकाहरुलाई तत्काल आवासको प्रवन्ध गर्न र घर निर्माणका लागि सहयोग गर्न,खाद्यान्न,लत्ताकपडा,भाँडाकुँडा लगायत दैनिक आवश्यक बस्तुको तत्काल व्यवस्था गर्न ध्यानाकर्षण गरिएको छ । यस्तै पुल तथा सडकको पुर्ननिर्माण गरी यातायात तथा आवतजावत सुचारु गर्न,जोखिम रहेका वस्तिहरुलाई स्थानान्तरण गरी एकीकृत वस्ति विकासको कार्यक्रम अघि बढाउन,खानेपानी,सञ्चार र बिद्युत आपूर्ति सुचारु गर्न समेत माग गरिएको छ ।

सांसदहरुले जिल्लावासीहरुको डिजिटल अभिलेख व्यवस्थित गरी प्राकृतिक बिपद्ीको पूर्व सूचना दिने व्यवस्था मिलाउन,छिटो उद्धार तथा घाइतेलाई तत्काल अस्पताल पु¥याउने व्यवस्थाका लागि ठाउँठाउँमा सुरक्षाकर्मी खटाउन,क्षति भएका पशु चौपाया तथा बालीनालीको उचित क्षतिपूर्तिको प्रवन्ध गर्न र अघिल्लो बर्षको बाढ पहिरोबाट क्षति भएका आवास निर्माणका लागि पहिचान भएका लाभग्राहीको रकम तत्काल निकासा गर्न माग गरिएको छ ।

गत जेठ २७ गते देखि परेको बर्षाका कारण आएको बाढी र पहिरोमा परी ताप्लेजुङमा यो बर्ष ५ जनाको मृत्यु भइसकेको छ भने २ जना घाइते भएका छन् । ८१ परिवार बिस्थापत भएका छन् । सयौंको हारहारीमा पशु चौपायाको मृत्यु भएको छ भने अलैंचि समेतको खेति गरिएको क्षेत्र सहित ठूलो धनसम्पत्तिको क्षति भइसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी र पहिरोका कारण यहाँका धेरै स्थानहरुका ग्रामीण सडक अबरुद्ध बनेका छन् ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts