| |

कोशी नामविरुद्ध अर्को आन्दोलनको तयारीमा संघर्ष समिति

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ३ । कोशी प्रदेश नामाकरणविरुद्ध संघर्षरत रहेको प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले नयाँ चरणको आन्दोलनको तयारी गरेको छ । ताप्लेजुङ सरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारबाट हालसम्मको आन्दोलनलाई बेवास्ता भएकोभन्दै समितिले अर्को नयाँ चरणको आन्दोलनको तयारी गरेको हो ।
शनिबार र आइतबार दुई दिन बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै संघर्ष समितिले कोशी नामाकरणविरुद्ध नयाँ चरणको आन्दोलन गर्ने जनाएको हो । संघर्ष समितिका संयोजक एवम् किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले आगामी मङ्सिर २ गते विराटनगरमा विशाल जनप्रदर्शनसहित नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
कोशी नाम खारेज गरी पहिचानको आधारमा पुनः नामांकन गर्र्नुपर्ने मुद्दासहित भइरहेको आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्तापक्ष अग्रसर नदेखिएकाले अर्काे चरणको आन्दोलनको तयारी गरिएको येक्तेनले बताउनुभयो । उहाँकाअनुसार नयाँ चरणको आन्दोलनअन्तर्गत स्थानीय तहबाटै समानान्तर सत्ता सञ्चालनको अभ्याससहित संघर्ष समितिले आन्दोलनलाई सशक्त बनाउने छ ।
प्रदेश सरकारले कोशी नामको प्रस्तावक रामबहादुर राना मगरकै नेतृत्वमा वार्ता टोली गठन गर्नु खेदजनक भएको उल्लेख गर्दै आन्दोलनका विषयमा निस्कर्षमा पुग्नेगरी वार्ता गर्ने भए अब भने अस्तित्वमा रहेका दलका नेतासहित मुख्यमन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्ने समितिका नेतृत्व बताएका छन् । दुई दिने बैठकले कोशी खारेज गरी पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने लगायतका विभिन्न ११ बुँदे महत्वपूर्ण निर्णयहरु गरिएको संघर्ष समितिका सदस्य तथा किराँत राई यायोक्खाका उपमहासचिव अर्जुन जन्मेली राईले बताउनुभयो ।
राईकाअनुसार ११ बुँदे निर्णयअन्तर्गत पाथीभरामा निर्माण गर्न लागिएको केबलकार परियोजनाविरुद्ध मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केबलकार निर्माण खारेजी संघर्ष समितिले गर्दै आएको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने रहेको छ । त्यस्तै कोशी नामका पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सांसद र पहिचानविरुद्ध अभिव्यक्ति दिने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, प्रतिनिभिसभा सदस्य योगेशकुमार भट्टराई र एमाले नेता महेश बस्नेतलाई दबाब दिन उहाँका परिवार वा आफन्तमार्फत अनुरोध गर्ने निर्णय भएको छ । यस्तै उहाँहरुलाई सार्वजनिक कार्यक्रममा निमन्त्रणा नगर्न नगराउन सबैसँग अनुरोध गर्ने पनि समितिले निर्णय गरेको छ ।
यसैगरी पुनः नामांकनको पक्षमा भएको आन्दोलनका क्रममा पक्राउ गरिएका हस्तबहादुर लिम्बू (आशिष साँवा) को रिहाइका लागि पहल गर्न पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा एक टोली निर्माण गरिएको छ । त्यस्तै तेस्रो जनआन्दोलन र पहिचानको मुद्दालाई सशक्त बनाउन मुद्दा मिल्ने राजनीतिक दल र संस्थासँग सहकार्य साथै मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय पनि समितिले गरेको छ ।
सङ्घर्ष समितिको बैठकमा पहिचान पक्षधर नेताहरु कियाचु अध्यक्ष येक्तेन, ग्याल्जे शेर्पा, डकेन्द्रसिंह थेगिम, जीवन हाताचो राई, लाक्पा शेर्पा, कुमार लिङ्देन, प्राडा महेन्द्र लावती, पूर्वमन्त्री गोपाल किराँतीलगायत सहभागी हुनुभएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङ्खिमले जानकारी दिनुभयो । बैठक सदरमुकाम फुङ्लिङस्थित स्नो लियोपार्ड होटलमा भएको थियो ।

Similar Posts