पाथीभरामा रुख कटान गरिएको क्षेत्रमा वृक्षारोपण

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा वृक्षारोपण गरिएको छ । केबलकार परियोजनाका लागि रुख कटान गरिएको क्षेत्रमा बिहीबार र शुक्रबार वृक्षारोपण गरिएको हो ।
मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केबलकार निर्माण खारेजी संघर्ष समितिले रुख कटान भएको क्षेत्रमा वृक्षारोपण गरेको हो । दुई दिनमा करिव १० हजार बिरुवा रोपिएको मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमले जानकारी दिनुभयो ।
संयोजक लिङ्खिमका अनुसार गुराँसका विभिन्न प्रजाति, धुपी, लौठ सल्ला, गोब्रे सल्ला, ढ्याङ्ग्रे सल्लाजस्ता बिरुवा रोपिएका छन् । जिल्लास्थित डिभिजन वन कार्यालय, सामुदायिक वन समूह लगायतले नर्सरीमार्फत उत्पादन गरिएका बिरुवाहरु खरिद गरेर वृक्षारोपण केलबार निर्माण खारेजी संघर्ष समितिका सहसंयोजक डम्बरबहादुर पालुङ्वाले जानकारी दिनुभयो ।
मुक्कुमलुङ क्षेत्रमा वृक्षारोपण गर्ने कार्य अभियानकै रुपमा सुरु गरिएको पालुङ्वाले बताउनुभयो । उहाँका अनुसार वृक्षारोपणलाई निरन्तरता दिइने छ । वृक्षारोपण अभियानलाई आउँदो असार १५ गतेसम्म सञ्चालन गर्न दुवै संघर्ष समितिले निर्णय गरेको जनाएका छन् । वृक्षारोपणमा पहिचानवादी नेताहरु कुमार लिङ्देन, आङकाजी शेर्पा, प्रेम येक्तेन, निरन्ती तुम्बापो, रामभक्त कुरुम्बाङ, राम मादेनलगायत सहभागी हुनुभएको बताइएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा देवी दर्शन केबलकार प्रालिले केबलकार निर्माण परियोजना अघि बढाएसँगै समितिहरुले आन्दोलन सुरु गरेका छन् । लिम्बू समुदायसहित आदिवासी जनजातिको ऐतिहासिक मुन्धुमी धार्मिकस्थलको अतिक्रमण गरी केबलकार निर्माण गर्न लागिएकोभन्दै परियोजनाविरुद्ध समितिहरु आन्दोलित छन् ।