माटो सुहाउँदो खेतिप्रति किसानलाई आर्कषित गर्दै ताप्लेजुङको मेरिङदेन,गाउँपालिकामै अब माटो परीक्षण हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २८ । माटोको अवस्था पहिचान पछि मात्र किसानलाई खेतिवाली लगाउन प्रोत्साहित गर्न ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पालिकाको केन्द्रमै माटो परीक्षण मिनी ल्याव स्थापना गरेको छ ।

कुन माटोमा कस्तो प्रकृतिको खेतिवाली लगाउने,माटोमा अम्लियपनको अवस्था कस्तो छ भनी पहिचान गर्न गाउँपालिकाले चालू आर्थिक बर्ष २०८०।८१ को बार्षिक स्वीकृत कार्यक्रममार्फत मिनी ल्याव स्थापना गरेको गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले जानकारी दिनुभयो । उहाँका अनुसार अब गाउँपालिकाको कृषि शाखामार्फत पालिकाभरीका किसानको माटो परीक्षण गरिने छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर सुब्बाका अनुसार कुनै बाली लगाउनुपूर्व किसानले माटो खेतियोग्य छ की छैन भनेर माटोको नमूना परीक्षण गर्न पाउने छन् । किसानले पालिकाको कृषि विकास शाखामा माटोको नमूना संकलन गरी संकलन मिति,जग्गाको प्रकार,अब लगाउने बाली,सिंचाईको अवस्था र पहिले लगाईएको बाली तथा प्रयोग गरिएको प्राङ्गारिक तथा रसायनिक मल तथा कृषि चुन प्रयोग गरेको त्यसको मात्रा सहितको विवरण पेश गर्नुपर्ने हुन्छ । किसानलाई माटो सुहाउँदो खेति प्रणालीप्रति आर्कषित गर्न तथा उत्पादन र उत्पादकत्व बृद्धि गर्न पालिकाले यस्तो योजना अघि बढाएको पालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङ बताउँनुहुन्छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला सुनसरीका अनुसार उन्नत तथा तरकारी बालीका लागि एकै प्रकारको माटो (जस्तै रंग,वनावट,भिरालोपना आदि)भएको जमिनबाट एकवटा नमूना माटो संकलन गर्नुपर्छ । एउटा माटोको नमूना तयार गर्न एक रोपनीबाट कम्तिमा ५–६ ठाउँको माटो नमूनाको रुपमा लिनुपर्छ । माटोको नमूना संकलन गर्दा प्रत्येक ठाउँमा १५ देखि २० सेन्टीमिटर गहिरो‘भी’आकारको खाल्डोको एकभित्ताबाट माथि देखि तल सम्म एकै मोटाईको माटो लिनुपर्छ । सबै खाल्डोबाट संकलन गरिएको माटोको नमूनालाई एकठाउँमा जम्मा गरेर राम्रोसंग मिसाउने र जम्मा भएको माटोबाट ढुङ्गा,झारपात जस्ता अनावश्यक चीजवस्तु हटाई चार बराबर भागमा बाँडी आमने सामनेको दुई भाग हटाउनु पर्छ । बाँकी रहेको दुई भाग माटोलाई फेरी राम्रोसंग मिसाएर पुनः४ भाग लगाएर दुई भाग राखी दुई भाग हटाउनुपर्छ । त्यो क्रम माटोको नमूना १–२ किलोग्राम नभए सम्म जारी राख्नु पर्छ भने बढीमा आधा केजी माटोलाई परीक्षणमा पठाउन सकिन्छ ।

यस्तै फलफूल बालीका लागि फरक किसिमका माटो(जस्तै रंग,वनावट,भिरालोपना आदि) भएको जमिनबाट छुुट्टाछुट्टै नमूना संकलन गर्नुपर्छ । फलफूल बालीका लागि माटो संकलन गर्दा छनौट गरिएको जमिनबाट एक रोपनी जमिनबाट कम्तिमा एकवटा तीनफिट गहिरो खाडल खनी माटोको नमूना लिने खाडलको एकतर्फको भित्तामा माथिबाट तलतर्फ एक,दुई र तीनफिट गहिराईमा चिन्न लगाउनु पर्छ । यसरी चिनो लगाईएको भित्ताबाट छुुट्टाछुट्टै भाँडामा ०–१,१–२ र २–३ फिट सम्मको माटो नमूना संकलन गर्नुपर्छ । यसरी छुुट्टाछुट्टै संकलन भएको माटो प्रत्येकलाई छुुट्टाछुट्टै चार भागमा लगाई आमने सामनेको दुईभाग हटाई बाँकी दुई भाग राख्ने र सो क्रम माटो १–२ केजी नभए सम्म कायम राख्नु पर्छ । यसरी तयार भएको माटोलाई सफा प्लाष्टिकको थैलोमा राखी नमूना परीक्षणमा पठाउनु पर्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts