ताप्लेजुङमा जातीय भेदभाव तथा छुवाछूत बिरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २१ । ताप्लेजुङमा सोमवार जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाईएको छ ।
नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरण गर्दै सो घोषणाको १८ बर्ष प्रवेशको अवसरमा उक्त कार्यक्रम मनाईएको हो । कार्यक्रम मनाउनका लागि दलित अधिकारकर्मी तथा फुङलिङ नगर कार्यपालिका सदस्य गंगाराम शंकरको अध्यक्षतामा समिति गठन भएको थियो । शंकरको अध्यक्षतामा गठित मूल समारोह समितिको नेतृत्वमा भएको कार्यक्रममा संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई सहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले जातिय भेदभाव तथा छुवाछूत बिरुद्धको अभियानमा सबैको साथ र सहयोग रहनुपर्ने बताउनु भएको थियो ।
संविधान र कानुनले जातिय आधारमा हुने सबै प्रकारका विभेद,कुरीति,अन्धविश्वास,अपराध,बहिष्करण,बञ्चितीकरण र हिंसालाई अन्त्य र निशेध गरेको छ । तरपनि दलित समुदायका व्यक्तिहरु अहिले सम्म पनि कुप्रथाबाट प्रभावित सामाजिक जातीय भेदभाव र छुवाछूतमा आधारित जघन्य अपराधको शिकार हुँदै आएका छन् । जातीय भेदभाव र छुवाछूतको समूल अन्त्यका लागि २०६३ साल जेठ २१ ग्ते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएपनि समाजमा अहिलेसम्म हेला होचो,विभेद,अन्याय,बहिष्करण र बञ्चितीकरण कायम रहँदा दलित समुदायमा हिनताबोध र विभेदबाट प्रभावित भएको अनुभूत रहिरहेको छ ।
श्रम विभाजनलाई आधार बनाएर र अन्धविश्वासको आड लिएर हुने गरेका जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि सरकारले नै कानुनको उचित प्रवन्ध गरिसकेको अवस्थामा अन्धविश्वास र कुरीति बिरुद्ध सचेतना जरुरी र विभेद तथा छुवाछूत गर्ने बिरुद्ध कानुनी कारवाहीको माग समेत सो कार्यक्रममा उठेको छ । कार्यक्रममा बिभिन्न क्षेत्रका अगुवाहरुले अहिले पनि जातीय भेदभाव र छुवाछूत कायम रहनुु समाज विकासका लागि दुर्भाग्यपूर्ण हुने बताएका थिए । औपचारिक कार्यक्रम सुरु हुनुअघि जातीय भेदभाव र छुवाछूत बिरुद्ध सचेतनामूलक र्याली समेत प्रर्दशन गरिएको थियो ।