जिल्ला लिग दुई चरणमा सञ्चालन गर्दै ताप्लेजुङ जिल्ला फुटबल संघ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १८ । ताप्लेजुङमा दुई चरणमा फुटबलको जिल्ला लिग प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आयोजक जिल्ला फुटबल संघले शुक्रवार पत्रकार सम्मेलनमार्फत ‘ए’ र ‘बि’डिभिजन लिग दुईचरणमा सञ्चालन गर्ने जनाएको छ । जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङका अनुसार ‘बि’डिभिजन नकाउट प्रतियोगिता जेठ १८ गते देखि २२ गते सम्म फुङलिङस्थित भानुजन माविको खेल मैदान हुने छ । ‘ए’ डिभिजन लिग भने जेठ २१ देखि २५ गते सम्म आठराई त्रिबेणी गाउँपालिकाको चाँगेस्थित चाँगे माविको खेल मैदानमा हुने भएको छ । ताप्लेजुङ जिल्ला फुटबल संघका महासचिव दिनेश खवासका अनुसार ताप्लेजुङ जिल्ला फुटल संघका १४ वटा क्लव आवद्ध छन् । ति मध्ये अहिले सम्म ६ वटा ‘ए’ डिभिजनमा र ८ वटा ‘बि’डिभिजनका रहेका छन् । यो लिगमार्फत ‘ए’डिभिजनको पुछारमा रहेका २ वटा क्लवलाई घटुवा गरी ‘बि’डिभिजनमा सूचिकृत गरिने छ भने ‘बि’डिभिजनको खेलका बिजेता र उपबिजेता टिमलाई ‘ए’डिभिजनमा बढुवा गरिने छ ।
‘ए’डिभिजन लिगको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजार रुपैयाँ पुरस्कार समेत पाउने जिल्ला फुटबल संघले जनाएको छ । संघका जिल्ला अध्यक्ष चेम्जोङका अनुसार ‘बि’डिभिजनका बिजेताले नगद ३० हजार उपबिजेताले नगद १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसपटकको लिगमा ताप्लेजुङ बाहेक अन्य जिल्लाका खेलाडीलाई क्लवमा आवद्ध गरी खेलाउन बन्देज गरिएको छ । लिग खेलका लागि ताप्लेजुङ जिल्लाको अस्थायी र स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्ने नियम लगाईएको छ ।
ताप्लेजुङ जिल्लाका फुटबल खेलाडीको उत्पादन तथा उनीहरुको क्षमता मापन गरी जिल्लागत क्लवहरुको उच्चतम् प्रतिश्पर्धालाई ख्याल गरेर‘रेलिगेसन वा प्रोमोसन’को अवसर प्रदानका लागि यो व्यवस्था लागु गरिएको अध्यक्ष चेम्जोङले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि आठराई त्रिबेणी गाउँपालिका मुख्य प्रायोजक रहेको जिल्ला फुटबल संघले जनाएको छ । अखिल नेपाल फुटबल संघले ७ लाख रकम उपलब्ध गराउने भएपनि जिल्ला लिगका लागि करिव १९ लाख रुपैयाँ खर्च हुने जिल्ला फुटबल संघले अनुमान लगाएको छ ।