विपद् क्षेत्रको पहिचान र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरण गर्न सरोकारवालाको सुझाव

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १७ । ताप्लेजुङका सरोकारवालाले सम्भावित विपद् क्षेत्रको पहिचान र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सक्रिय मनसुन अवधिमा सुरक्षित स्थानान्तरणको खाँचो औंल्याएका छन् ।

मनसुनजन्य विपद् पहिचान र घटना न्यूनीकरणका उपाय खोज्न फुङलिङस्थित दुर्गादल गुल्मले विहीबार आयोजना गरेको‘टेवल टक एक्सरसाइज’(टिटिएक्स) कार्यक्रममा सरोकारवालाले यस्तो सुझाएका हुन् । स्थानीय तहले आफ्नो सम्वन्धित क्षेत्रका मनसुनजन्य जोखिम क्षेत्र पहिचान गरी जोखिम कम हुन नदिने गरी उपायको अवलम्बन गर्नुपर्ने सरोकारवालाले बताए । फुङलिङ नगरप्रमुख अमिर मादेनले प्रत्येक पालिकामा सार्वजनिक जमिन आवश्यक भएकोले त्यसका लागि नगरपालिकाले प्रकृया अघि बढाएको जानकारी दिनुभयो । उहाँले सार्वजनिक हेलिप्याड समेत आवश्यक भएको औंल्याउनुभयो । नगरप्रमुख मादेन नगरपालिकाले आउँदो बजेटमार्फत विपद्को राहत तथा उद्धारका लागि चाहिने सामग्री खरिद गर्न आफुहरुले जिल्ला विपद् व्यवस्थापन समितिसंग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले मनसुनजन्य विपद्का घटनाले सालिन्दा प्रभावित भइरहने ताप्लेजुङका लागि पूर्व तयारी,सावधानी र सर्तकर्ता र प्रतिकार्यका योजना मजवुत हुनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावलले विपद्को व्यवस्थापनका लागि समन्वय,पुष्टीयोग्य सूचना,सहकार्य र एकतामा जोड दिनुभयो । उहाँले विपद्जन्य सामाग्री भण्डारण स्थल समेत आवश्यक भएकोमा जोड दिनुभयो । सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति रवीन सिलवालले आफुहरुसंग विपद् प्रतिकार्यमा खटिने जनशक्ति तयारी हालतमा भएपनि विपद्को राहत तथा उद्धारका क्रममा प्रयोग हुने सामाग्रीको अभाव रहेको बताउनुभयो । उहाँले मनसुनजन्य विपद्का लागि जिल्ला व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्व तयारी र प्रतिकार्यका योजना कार्यान्वयन गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेकोमा जोड दिनुभयो ।

प्रमुख अनुसन्धान अधिकृत सञ्जय मण्डलले विपद् रोकथाम,न्यूनीकरण र प्रतिकार्यमा सामूहिक प्रयास अनिवार्य भएकोले यसका लागि सबैपक्ष सम्बेदनशिल हुनुपर्ने बताउनुभयो । निमित्त जिल्ला समन्वय अधिकारी प्रकाश गुरुङले उचित ढल निकास समेतको अभावका कारण बर्षायाममा सडकमै पानी एकोहोरिएर क्षति पु¥याउन सक्ने सम्भावनातर्फ सचेत सर्तक हुनुपर्ने बताउनुभयो । जिल्ला रेडक्रस सोसाईटीका सभापति इन्द्रबहादुर गुरुङले नदी तथा खोलाको तटिय क्षेत्रमा रहेका बस्तिका बासिन्दामा जोखिम कम गर्न ठूला नदी तथा खोलामा पानीको वहाव बढेको संकेत दिने सूचना प्रणाली जडान गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले पहाडी क्षेत्रहरुमा विपद्का बेला हवाई उद्धार प्रभावकारी हुने भएकोले त्यसको व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने अवस्था चित्रित गर्नुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले भिरालो जमिन भएको क्षेत्र र सालिन्दा तर कुन क्षेत्रमा बाढी र पहिरोको असर हुन्छ भन्ने थाह नहुने भएकोले ताप्लेजुङको अधिकाँस क्षेत्र मनसुनजन्य विपद्बाट जोखिममा रहेको बताउनुभयो ।

मनसुनजन्य विपद्का सम्भावित घटनाको न्यूनीकरण तथा कम क्षति हुने उपाय अवलम्बनका लागि सरोकारवालाको सुझाव ग्रहण गर्न यस्तो कार्यक्रम राखिएको बताउँदै दुर्गादल गुल्मका निमित्त गुल्मपति सहसेनानी केशव खड्काले गुल्मले शुक्रवारबाट अभ्यासमूलक शिक्षण कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । खड्काका अनुसार मेरिङदेन गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका,मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी शुक्रवार दोभान बजारमा मनसुनजन्य विपद् बिरुद्धको अभ्यासमूलक शिक्षण गराइने छ । जेठ अन्तिम साता सम्म यस्तो अभ्यासमूलक शिक्षण जारी रहेको दुर्गादल गुल्मले जनाएको छ । दुर्गादल गुल्म,जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको नं १ गुल्मको संयुक्त प्रयासमा विपद्का समयमा प्रयोग हुने सामग्री र उसको उपयोगिता बारे जानकारी समेत गराइएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts