सिरिजङ्गा गाउँपालिकाको सार्वजनिक सुनुवाईका क्रममा घर–घरमै सासु भत्ता पुर्याउन र गुनासो सुन्ने कक्ष बनाउन माग

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सेवाग्राहीले वडाका जनप्रतिनिधिहरुमार्फत घरघरमै सामाजिक सुरक्षा भत्ता पुग्ने व्यवस्थाको माग गरेका छन् । जनप्रतिनिधि र कर्मचारी दुबैको उपस्थितिमा यस्तो कार्य हुन सक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको लगतकट्टा र थप सहितको विवरण अद्यावधिकमा समेत सहयोग पुग्ने सेवाग्राहीहरुको विश्वास रहेको छ ।

सिरिजङ्गा गाउँपालिकाले चालू आर्थिक बर्षको तेस्रो चौमासिक अवधि सम्मको सेवा बितरण प्रकृयामा सेवाग्राहीको राय तथा सुझाव लिन आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो माग गरिएको हो । कार्यालय प्रमुखले कम्तिमा एकदिन आधा घण्टा भएपनि सेवाग्राहीको गुनासो सुन्ने गरी नियमित कार्यतालिका बनाउन समेत सेवाग्राहीले माग गरेका छन् । सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले कोहि सेवाग्राहीले गुनासो लिएर आए तत्काल सुनुवाई गरी समाधानका विकल्प खोजिदै आएपनि त्यसका लागि कार्यतालिकानै भने नबनाएको बताउनुभयो ।‘सेवाग्राहीको माग अनुसार कार्यतालिका बनाएरै गुनासो सुन्ने प्रवन्ध गर्न सकिन्छ’उहाँले भन्नुभयो ।

सार्वजनिक सुनुवाईको क्रममा सेवाग्राहीले कम्तिमा तीन महिनामा एकपटक पालिकाका पदाधिकारीले वडातहमै पुगेर सेवाप्रवाहका बारे सेवाग्राहीका कुरा सुन्ने गरी वातावरण बनाउन माग गरेका छन् । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले आगामी आर्थिक बर्षदेखि यस्ता कार्यक्रमलाई कार्यतालिका बनाएरै लागु गर्न पालिकाकोतर्फबाट पहल लिने विश्वास दिलाउनु भएको छ । सार्वजनिक सुनुवाईका क्रममा सेवाग्राहीले टुक्रे र पहुँचका भरमा योजना छनौट गरी बजेट नहाल्न,मुखले योजना बाँड्ने तर पूरा नगर्ने प्रणाली अन्त्य गर्न,चुनावी भाषणका बेला गरेको बाचाको खाता पल्टाई आफुले गरेका बाचा पूरा भए नभएको नियाली निर्मम समिक्षा गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । टोल विकास संस्थाप्रति पालिकाको हेराई ठीक नभएको गुनासो समेत गरेका छन् । पालिका तथा वडापालिका समेतले बजेट बनाउँदा एकै ठाउँमा पटक–पटक दोहो¥याएर योजना दिन नहुने उनीहरुको माग रहेको छ ।

जनप्रतिनिधिले फोन नठाउँदा र कार्यालयमा उचित समय नदिदा सिफारिस सहितका अन्य आवश्यक कागजातमा समस्या परेको भन्दै सेवाग्राहीको यस्तो अवस्थामा सुधार ल्याउन सेवाग्राहीले सुझाएका छन् । प्रत्येक वडामा सार्वजनिक जग्गाको खोजी गरी खुल्ला मञ्च बनाउनुपर्नर्र्,ेेपालिकाका प्रत्येक वडादेखि पालिकाको केन्द्रसम्म जोड्ने सडक बाह्रैकाल सवारी कुद्ने तहको बनाउनुपर्ने,कृषि र भेटनरीका कर्मचारीले स्थलगत र नियमित तवरले सेवाग्राहीकै घरदैलोमा पुगेर सेवा बितरण गर्नुपर्ने सेवाग्राहीले माग गरेका छन् ।

कर्मचारी बिदामा जाँदा कार्यालयले बिदामा गएको कर्मचारी बारे सूचना पाटीमा टाँस गर्नुपर्ने,पालिकाले कर्मचारीको उपस्थिति र कामका बारेमा छड्के जाँच समेत गर्नुपर्ने सेवाग्राहीको माग रहेको छ । सेवाग्राहीले सार्वजनिक सुनुवाईमार्फत बिद्यार्थी छात्रबृत्ति रकममा भइरहेको कटौतिप्रति चिन्ता व्यक्त गरेका छन् । प्रत्येक योजना सञ्चालनको अनुगमन संयन्त्रमा स्थानीय क्रियाशिल राजनीतिक दलको संलग्नता अनिवार्य गर्नुपर्ने,स्थानीय तहबाटै जग्गा किनबेच हुनेगरी मालपोत र नापी कार्यालयसंग समन्वय गर्नुपर्ने,रेविज बिरुद्धको खोपलाई अभियानकै रुपमा पालिका स्तरमा योजना सञ्चालन गर्नुपर्ने सेवाग्राहीले माग गरेका छन् ।

जेठ १० गते नै आगामी आवको नीति तथा कार्यक्रम ल्याई सकेको सिरिजङ्गा गाउँपालिकाले भने रेविजमुक्त पालिका बनाउने र स्थानीय तहबाटै जग्गाको किनबेच प्रकृयाका लागि पहल गर्ने नीति घोषणा गरेको छ । पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले सार्वजनिक सुनुवाई र जनमत संकलनका क्रममा सेवाग्राहीले पालिकाप्रति गरेको अपेक्षा र उचित मागको सम्बोधन हुनेगरी बजेट बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सार्वजनिक सुनुवाई अघि पालिकाले सहजकर्तामार्फत पालिकाका ८ वटै वडाका कम्तिमा १० घरधुरी सेवाग्राही सम्म पुगी पालिकाले प्रदान गरेको बस्तु तथा सेवाको सन्तुष्टी फारममार्फत जनमत संकलन गरेको थियो । सहजकर्ता खगेन्द्र अधिकारीका अनुसार सिनामबाट १३,आम्बेगुदिनबाट ११,सिकैचा १०,पेदाङ ७,खेवाङ १२,मामाङ्खे १०,याम्फुदिन ७ र तेल्लोकबाट १० जना गरी कूल ८० जनाको जनमत संकलन भएको थियो । सेवा लिएर फर्किएका सेवाग्राहीलाई सेवाको अवस्था,जनप्रतिनिधिले उचित दायित्व पूरा गरे नगरेको,सेवा बितरणमा जनप्रतिनिधि र कर्मचारीको व्यवहार,पूर्वाधारका काममा प्राविधिकहरुबाट प्राप्त भएको सहयोग असहयोग सहितका प्रश्नावाली तयार गरी जनमत संकलन गरिएको थियो ।

 

Similar Posts