तमोर-मेवा जलजलविधुत आयोजनाको शिलान्यास
-प्रयास लिम्बू
ताप्लेजुङ, जेठ १० । ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविधुत आयोजनाको शिलान्यास गरिएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविधुत आयोजनाको बिहीबार शिलान्यास गरिएको हो ।
जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी निर्माण गर्न लागिएको आयोजनाको तत्कालीन संविधानसभाका सदस्य सञ्चपाल मादेनले शिलान्यास गर्नुभएको छ । आयोजना निर्माणस्थल फुङ्लिङ नगरपालिका–१ तमोर नदी क्षेत्रको दगुर्नेमा आयोजित कार्यक्रममा संविधासभा सदस्य मादेनले विधिगत् शिलान्यास गर्नुभएको हो ।
तमोर–मेवा जलविधुत आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले शिलान्यास भएसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको बताउनुभयो । प्रक्रिया प्रारम्भ गरेको लामो समयपछि कम्पनीले आयोजना निर्माणको काम थाल्नेगरी शिलान्यास गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँकाअनुसार शिलान्याससँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ ।
उहाँले आयोजना निर्माणको काम चरणवद्ध सुरु हुने पनि जानकारी दिनुभयो । आयोजनाका लागि विधुत खरिद बिक्रीसहित सम्पूर्ण प्रक्रिया पूरा गरेर निर्माणको चरणसम्म आइपुगेको पनि उहाँले बताउनुभयो । उहाँकाअनुसार आगामी २०८५ साल असोजभित्र विधुत उत्पादन गर्ने गरी निर्माणको कामलाई अघि बढाइने छ ।
आयोजनाको कूल लागत भने करिव साढे २४ अर्ब रुपियाँ अनुमान गरिएको प्रवर्द्धक कम्पनीले जनाएको छ । फुङ्लिङ नगरपालिकाको वडा १, २, ३ र ९, मिक्वाखोला गाउँपालिकाको वडा १, २ र ३, मेरिङ्देन गाउँपालिकाको वडा ३ तथा आठराई त्रिवेणी गाउँपालिकाको वडा २, ३ र ५ आयोजनाको प्रभावित क्षेत्रमा पर्दछन् । मेवा र तमोर दुवै खोला तथा नदीको पानी उपयोग गर्न दुईवटा मुख्य सुरुङ निर्माण गरिने र दुवै सुरुङको लम्बाइ करिव नौ किलोमिटरको हुने छ ।
आयोजना शिलान्यास कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य मादेन, कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनलगायतले मन्तव्य राख्नुभएको छ । आफ्नो भनाइ राख्दै उहाँहरुले आयोजनाको काम समयभित्रै सम्पन्न गर्न सुझाव दिनुभएको छ । त्यस्तै आयोजना सञ्चालन गर्दा निर्माण कम्पनीले बहन गर्नुपर्ने दायित्वअन्तर्गत सामाजिक उत्तरदायित्व, शेयर तथा स्थानीयलाई रोजगारी दिने विषयमा कन्जुस्याइँ नगर्न पनि वक्ताहरुले सुझाव दिएका छन् ।