फुङ्लिङ नगरपालिकामा बिहीबार सार्वजनिक विदा
उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले बिहीबार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले बिहीबारदेखि सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सव तथा अन्तर पालिकास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटनमा एक दिन स्थानीय सार्वजनिक विदा दिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले बुधबार सूचना जारी गर्दै फुङ्लिङ नगरपालिकामा बिहीबार एकदिनका लागि सार्वजनिक विदा दिएको उल्लेख गर्नुभएको छ । विदाको दिन अत्यावश्यक सेवाबाहेक नगरपालिका कार्यालय, सबै वडाकार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु बन्द हुने छ ।
फुङ्लिङ नगरपालिकाको आयोजनामा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता बिहीबार सुरु हुने छ भने ताप्लेजुङ पर्यटन महोत्सव पनि सोही दिनदेखि सुरु हुँदै छ । सदरमुकाम फुङ्लिङमा आयोजना गरिएको पाँच दिने पर्यटन महोत्सव जेठ ७ गते सोमबार सम्पन्न हुने छ । फुङ्लिङ नगरपालिकामा ११ वटा वडा रहेका छन् ।