शैक्षिक सुधारका लागि ताप्लेजुङका दुई पालिकाको अभियान,कतै स्थानीय पाठ्यक्रम,कतै वृहत्त शैक्षिक सम्मेलन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १ । ताप्लेजुङको आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँपन दिने प्रयास सुरु गरेका छन् ।

आठराई त्रिबेणी गाउँपालिकाले कक्षा १ देखि ८ सम्म एकसय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम सुरु गरेको छ भने मैवाखोला गाउँपालिकाले पालिकाको शैक्षिक क्षेत्रको मार्गचित्र तयार पार्न वृहत्त शैक्षिक सम्मेलनको आह्वान गरेको छ । आठराई त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईका अनुसार पालिकाले कक्षा १ देखि ८ सम्म पढाई हुने गरी ‘आठराई त्रिबेणीको सेरोफेरो’कार्यान्वयनमा ल्याएको छ । भट्टराईका अनुसार चालू शैक्षिक सत्रबाटै यो पाठ्यक्रम पालिकाभरीका बिद्यालयहरुमा लागु भएको छ ।

पालिका क्षेत्रको रहनसहन,जीवनशैली,दैनिक जीवनमा प्रयोग हुने बिषय र सन्दर्भ,पालिकाको वस्तुस्थिति बताउने बिषय पाठ्यक्रममा समेटिएको छ । बिद्यालयको आधारभूत तहबाटै पालिकाको बिषयमा बालबालिकालाई जानकारी गराई जीवन उपयोगी बनाउन स्थानीय पाठ्यक्रम सुरु गरिएको भट्टराईले बताउनुभयो । तयार पारिएको स्थानीय पाठ्यक्रमको पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)सहित पालिकाका पदाधिकारी तथा सदस्यले बिमोचन गर्नु भएको छ ।

उता,मैवाखोला गाउँपालिकाले पालिकाको शैक्षिक मार्गचित्र तयार पार्न जेठ १८ र १९ गते दुईदिने वृहत्त शैक्षिक सम्मेलन आह्वान गरेको छ । पालिका अध्यक्ष बिजयप्रकाश वनेमले पालिकाको शैक्षिक सुधारका लागि नयाँ योजना अघि सार्नेगरी रणनीति तय गर्न शैक्षिक सम्मेलन आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा सामुदायिक बिद्यालय सुधारको क्षेत्रमा कार्यरत शिक्षाविद् र अभियान्ताहरुको उपस्थिति रहने छ ।
फोटो ः कक्षा १ देखि ८ सम्म लागु भएकोस्थानीय पाठ्यक्रम ‘आठराई त्रिबेणीको सेरोफेरो’ बिमोचन गरिदैं ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts