ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी,सबैभन्दा बढी फुङलिङमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १२ । ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन् । चालू आर्थिक बर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन् ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार फुङलिङमा १२ जना क्षयरोगी रहेका छन् । दुलालका अनुुसार मेरिङदेन गाउँपालिकामा ८ जना,आठराई त्रिबेणी गाउँपालिकामा ५ जना,पाथीभरा याङवरक गाउँपालिकामा ४ जना,मिक्वाखोला र सिरिजङ्गा गाउँपालिकामा ३–३ जना र फक्ताङ्लुङ र मैवाखोला गाउँपालिकामा २–२ जना क्षयरोगी भेटिएका छन् । सिदिङ्वा गाउँपालिका अहिले सम्म क्षयरोगी फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ल्याव टेक्निसियन निरीक्षक दुलालका अनुसार फेला परेका क्षयरोगीमध्ये जन्मदेखि ४ बर्ष भित्रका ३ जना,१५ देखि २४ बर्ष भित्रका ७ जना,२५ देखि ३४ बर्ष भित्रका ६ जना,३५ देखि ४४ बर्ष भित्रका ७ जना,४५ दखि ५४ बर्ष भित्रका ४ जना,५५ देखि ६४ बर्ष भित्रका ८ जना र ६५ बर्ष भन्दा माथि उमेर समूहका ४ जना क्षयरोगी रहेका छन् । ५ देखि १४ बर्ष भित्रका क्षयरोगी नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने गरेको छ । खाना तथा यौनजन्य क्रियाकलापबाट भने यो रोग सर्दैन । क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने यो रोग लाग्दैन ।

रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्ने गरेको छ । दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु,शरीरको तौल घट्नु र खासगरी बेलुकापख ज्वरो आउनु,छाति दुख्नु,खाना अरुची हुनु र खकारमा रगत देखिनु जस्ता लक्षण भए क्षयरोगको आशंका गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक दुलालले क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुने भएकोले डराउनु नपर्ने बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गर्दै आएको छ । उपचार अवधी भने संक्रमित अंग र रोगको प्रकृतिमा निर्भर रहने उहाले जानकारी दिनुभयो ।

क्षयरोगका बिरामीलाई डट्स अन्तर्गत राखेर उपचार गर्ने गरिएको छ । जसअन्र्तगत बिरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ । औषधिहरुको सेवनबाट पिसाव रातो हुन सक्ने भएपनि यो स्वभाविक र सामान्य भएको समेत दुलालले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts