| |

कुकुरको आक्रमणबाट बालबालिकासहित छ जना घाइते

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा कुकुरको आक्रमणबाट छ जना घाइते भएका छन् । आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेमा एक स्थानीयले पालेको कुकुरले आक्रमण गरेर तीन बालबालिकासहित छ जनालाई घाइते बनाएको हो ।
वडाध्यक्ष लक्षुमन राई (ललित) का अनुसार बालबालिकासहित तीन पुरुष र तीनजना महिलालाई कुकुरले आक्रमण (टोकेर) गरेर घाइते बनाएको छ । कुकुरको आक्रमणबाट घाइते हुनेमा वडासदस्य सञ्जु आङ्बुहाङसहित वडा ५ चाँगेका तीनजना, वडा ४ का दुई र मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुका एकजना रहनुभएको छ ।
उहाँहरुलाई शनिबार बेलुका र आइतबार दिउँसो कुकुरको आक्रमण गरेको वडाध्यक्ष राईले बताउनुभयो । कुकुरको आक्रमणबाट घाइते भएकाले जिल्ला अस्पताल ताप्लेजुङ पुगेर उपचार तथा रेविजविरुद्धको खोप सेवा लिएका छन् । कुकुरले टोकेर अनुहारमा गम्भीर चोट लागेका एक बालकलाई भने थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार उक्त कुकुरले गाउँका अन्य कुकुर, बङ्गुर, भैँसी लगायतका पशुचौपायालाई समेत आक्रमण गरेको छ । शंकास्पद लक्षणसहित गाउँमा आतंक मच्याएको कुकुर सोमबार मरेको पनि उहाँले जानकारी दिनुभयो । सो कुकुरमा रेविज लागेको हुनसक्ने आशंका गरिए पनि पुष्टि भने भइनसकेको बताइएको छ ।
यता कुकुरले मानिस र पशुचौपायालाई आक्रमण गरेपछि वडा कार्यालयले आक्रमणमा परेका पशुचौपायालाई सोमबार खोप लगाई दिएको छ । आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दिपेन) समेतको सक्रियता र समन्वयमा पाँचथरको फिदिमबाट रेबिजविरुद्धको खोप रातारात ल्याएर आक्रमणमा परेका कुकुरसहितका पशुचौपायालाई लगाई दिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार केही पशुचौपाया र सो कुकुर पालेको क्षेत्र वरिपरिका १८ वटा कुकुरलाई रेविजको खोप लगाइएको छ । शंकास्पद लक्षण देखिएको कुकुरले आक्रमणसहित आतंक मच्चाएकाले अबको दुई/तीन दिनभित्र वडाभरिका कुकुरलाई रेबिजविरुद्धको खोप दिने अभियान नै चलाउने तयारी भएको वडा कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts