| |

आँखा उपचार केन्द्रलाई बराल दम्पत्तिद्वारा सिरक उपलब्ध

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १६ । ताप्लेजुङमा समाजसेवी एक दम्पत्तिले डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रलाई न्यानो सिरक प्रदान गरेका छन् । नेपाल नेत्रज्योति संघ जिल्ला शाखाद्वारा सञ्चालित आँखा उपचार केन्द्रलाई समाजसेवी बालमणि बराल र श्रीमती चन्द्रा बरालले पाँच थान सिरक शुक्रबार प्रदान गर्नुभएको हो ।
सदरमुकाम फुङ्लिङ बजारका व्यवसायी तथा नेपाल नेत्रज्योति संघ ताप्लेजुङका आजीवन सदस्यसमेत रहनुभएका बराल दम्पत्तिले सिरक प्रदान गर्नुभएको छ । आँखा उपचार केन्द्र तथा केन्द्रमा उपचार सार्थ आँखा शिविरमा उपचार सेवा लिन आउने विरामीसमेतले प्रयोग गर्नेगरी उहाँहरुले सिरक उपलब्ध गराउनुभएको हो ।
बराल दम्पत्तिले आँखा उपचार केन्द्रमै पुगेर सिरक नेपाल नेत्रज्योति संघका जिल्ला सभापति राजकुमार गुरुङलाई हस्तान्तरण गर्नुभएको छ । सिरक हस्तान्तरण कार्यक्रममा संघका अन्य पदाधिकारी, आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङ लगायतका कर्मचारीको उपस्थिति रहेको थियो ।
यता नेत्रज्योति संघ तथा आँखा उपचार केन्द्रका तर्फबाट सिरक उपलब्ध गराउनुहुने बराल दम्पत्तिलाई खादा लगाई दिएर सम्मान गरिएको नेत्रज्योति संघ शाखाका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार बराल दम्पत्तिलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

Similar Posts