ताप्लेजुङमा ४९ जना परीक्षार्थी अनुपस्थित
-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १५ । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङमा उनन्चास जना परीक्षार्थी अनुपस्थित भएका छन् । एसईई परीक्षामा सहभागी हुनलाई आवेदन दिएका एक हजार ८९० जना विद्यार्थीमध्ये उक्त सङ्ख्यामा परीक्षा अनुपस्थित भएका हुन् ।
जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका अनुसार एसईईको पहिलो दिन बिहीबार भएको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा २७ जना छात्र र २२ छात्रा गरी ४९ जना अनुपस्थित भएका हुन् । बाँकी एक हजार ७७९ जना विद्यार्थी अर्थात परीक्षार्थी परीक्षामा सामेल भएका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रामनारायण चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसार परीक्षामा सामेल भएकामध्ये ९७७ जना छात्रा र ८०२ जना छात्र रहेका छन् । पहिलो दिनको परीक्षा जिल्लाभर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्य इकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । एसईई सञ्चालनका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र रहेका थिए ।
इकाइका अनुसार फुङ्लिङ नगरपालिकामा भानुजन माध्यमिक विद्यालय, बालसुबोधिनि संस्कृत माध्यमिक विद्यालय, युवावर्ष माध्यमिक विद्यालय, सिद्धकाली माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा परीक्षा केन्द्र रहेको थियो । यस्तै मिक्वाखोला गाउँपालिकामा मोति माध्यमिक विद्यालय, मेरिङ्देन गाउँपालिकामा त्रिभुवन माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकामा भञ्ज्याङ माध्यमिक विद्यालयमा केन्द्र रहेको छ ।
त्यस्तै सिरिजंघा गाउँपालिकामा सिनाम माध्यमिक विद्यालय, तेल्लोक माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालय, पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालयमा परीक्षा केन्द्र रहेको थियो । मैवाखोला गाउँपालिकामा मैवाखोला माध्यमिक विद्यालय, आठराई त्रिबेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यायल केन्द्र छन् ।
यसैगरी फक्ताङ्लुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईई सञ्चालनका लागि गत वर्ष १६ वटा परीक्षा केन्द्र रहेकोमा यो फक्ताङ्लुङको सरस्वती माध्यमिक विद्यालयमा नयाँ केन्द थप भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।