ताप्लेजुङको सिरिजङ्गाले करिव तीनसय घरधुरी भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई बाँड्यो जग्गाको निस्सा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाकाले पालिकाका २ सय ९७ भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा बितरण गरेको छ ।

जग्गाको निस्सा बितरण गरिएका पालिकामध्येमा सिरिजङ्गा गाउँपालिकामा अहिले सम्मकै धेरै संख्या हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङको समन्वयमा आइतवार जग्गाको निस्सा बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा फोकल पर्सन मनोज उप्रेतिका अनुसार गाउँपालिकामा सबैभन्दा बढी अव्यवस्थित बसोबासीलाई निस्सा बितरण गरिएको छ । उहाँका अनुसार १ सय ९५ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । भूमिहीन सुकुम्बासी ५६ तथा भूमिहीन दलित ४६ घरधुरी रहेको पालिकाले जनाएको छ ।

पालिकाका अनुसार सिरिजङ्गा गाउँपालिकाको वडा नं १ सिनाममा ८ घरधुरी भूमिहीन सुकुम्बासी तथा १९ घरधुरी भूमिहीन दलित रहेका छन् । त्यहाँ अव्यवस्थित बसोबासी देखिएका छैनन् । यस्तै वडा नं २ आम्बेगुदिनमा भूमिहीन दलित ८ तथा अव्यवस्थित बसोबासी २० घर देखिँदा भूमिहीन सुकुम्बासी देखिएका छैनन् । वडा नं ३ सिकैचामा भूमिहीन सुकुम्बासी ३,भूमिहीन दलित ३ तथा अव्यवस्थित बसोबासी ३२ घरधुरी देखिएका छन् । वडा नं ४ तेल्लोकमा भूमिहीन सुकुम्बासी १२,भूमिहीन दलित ६ तथा अव्यवस्थित बसोबासी ५८ घरधुरी देखिएका छन् ।

वडा नं ५ पेदाङमा भूमिहीन सुकुम्बासी ६,भूमिहीन दलित ३ तथा अव्यवस्थित बसोबासी २९ घरधुरी रहेका छन् । वडा नं ६ मामाङ्खेमा भूमिहीन सुकुम्बासी १ तथा अव्यवस्थित बसोबासी १ घरधुरी देखिँदा भूमिहीन दलितको संख्या शुन्य रहेको छ । वडा नं ७ खेवाङमा भूमिहीन सुकुम्बासी १६,भूमिहीन दलित ६ तथा अव्यवस्थित बसोबासी ३५ घरधुरी रहेका छन् । वडा नं ८ याम्फुदिनमा भूमिहीन सुकुम्बासी १०,भूमिहीन दलित १ तथा अव्यवस्थित बसोबासी २० घरधुरी रहेको पालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङका अध्यक्ष कृष्णकुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत नेपाली,भूमि आयोग जिल्ला समितिका सदस्यद्धय लक्ष्मीप्रसाद अन्छङ्वो लिम्बू र सृजना लिम्बू,सिरिजङ्गा गाउँपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु,गाउँसभाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसअघि फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा बितरण गरिसकेका छन् । फुङलिङ नगरपालिकाले १ सय १७ घरधुरीलाई तथा मिक्वाखोला गाउँपालिकाले २२ घरधुरीलाई जग्गाको निस्सा बितरण गरिसकेको छ । निस्सा वितरण गरेसँगै जग्गा खोजीको प्रकृया सुरु भएको सम्वन्धित गाउँपालिकाले जनाएका छन् । राष्ट्रिय भूमि आयोगका जिल्ला समिति ताप्लेजुङका अध्यक्ष बस्नेतका अनुसार निस्सा पाएका परिवारले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने छन् ।

भूमिहीन सुकुमवासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा–जमिन नभएको तथा आफ्नो आयआर्जनका स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने जनाइएको छ । यस्तै, अव्यवस्थित बसोवासीको हकमा भूमिसम्बन्धी ऐन २०२१ को दफा ५२ (ग) बमोजिम उल्लेखित बसोवासी १० वर्षअघिबाट ऐलानी, पर्ती वा सरकारी अभिलेखमा वन जनाइएको ठाउँमा भए पनि घर–टहरा बनाएर बसेको वा खेतीपाती गरिरहेको (अन्यत्र नम्बरी जग्गाजमिन र घर टहरो) भएकाहरू भन्ने उल्लेख छ ।

भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा प्राप्तिबापत राजस्व नलाग्ने, तर अव्यवस्थित बसोवासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोवासको मूल्यांकनलगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको जनाइएको छ । भूमिहीन दलित र सुकुमवासीका लागि हिमाल र पहाडमा आवास निर्माणका लागि तीन सय ४० वर्गमिटर अर्थात् १० आना दुई पैसा ३.०९ दाम, खेतीपातीलाई तीन हजार वर्गमिटर अर्थात् पाँच रोपनी १४ आना १ पैसा १.६२ दाम जग्गा उपलब्ध गराइने भूमि आयोगले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts