सिरिजङ्गा गाउँपालिकाद्धारा आयोजित एकीकृत घुम्ति सेवा शिविरको चौथो दिन आम्बेगुदिनका सेवाग्राहीले लिए सेवा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले सुरु गरेको एकीकृत घुम्ति सेवा शिविरको चौथो दिन शुक्रवार पालिकाको वडा नं २ आम्बेगुदिनका सेवाग्राहीले घरैदैलोबाटै सेवा पाएका छन् ।

एकीकृत घुम्ति सेवा शिविरको चौथो दिन २ सय ५९ जनाको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि बितरण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका मेडिकल अधिकृत डाक्टर सञ्जित भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आम्बेगुदिनमा सबैभन्दा बढी मधुमेह,हाडजोर्नी र रक्तचाँपका समस्या भएका बिरामी भेटिएका छन् । एकजना बालकमा ‘मार्फान’को संकेत देखिएको छ । यो रोग लागेपछि मुटु र आँखामा समस्या देखिने,हाडजोर्नी लुलो हुने र अस्वभाविक अग्लोपना सहितका समस्या देखा पर्छन् ।

एकीकृत घुम्ति शिविरका क्रममा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखाको परीक्षण तथा उपचार गरिएको छ । मेची आँखा अस्पतालका नेत्र सहायक निरज दाहालका अनुसार ३ सय ३७ जना आँखाका बिरामीको परीक्षणका क्रममा २१ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् । उनीहरुलाई शल्यकृयाका लागि सिफारिस गरिएको छ । शिविरका क्रममा १ सय ७७ जनालाई चश्मा र अन्यलाई निःशुल्क रुपमा औषधि बितरण गरिएको छ ।

शिविरमा गाउँपालिकाले बितरण गर्ने सेवाका अलवा मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा आँखाको रोगीहरुको उपचार तथा परीक्षणका कार्य हुनेछन् । गाउँपालिकाले मोतियाबिन्दुमुक्त गाउँपालिका बनाउने गरी अभियान सञ्चालन समेत गरिरहेको छ । चैत ५,६ र ७ गते पालिकाको केन्द्र तेल्लोकमा मोतियाबिन्दुको शल्यकृयाका लागि छनौट भएका बिरामीहरुको आँखाको शल्यकृया समेत गरिने पालिकाले जनाएको छ ।

यस्तै कृषि विकास शाखाबाट १ सय २६ सेवाग्राहीलाई अलैंचीमा लाग्ने रोग बिरुद्धको बिषादी, उन्नत जातको बीउबिजन तथा कृषि परार्मश सेवा प्रदान गरिएको पालिकाका आर्थिक विकास शाखा प्रमुख सुमन भट्टराईले जानकारी दिनुभयो । यस्तै पशु स्वास्थ्य शाखाबाट ८८ सेवाग्राहीलाई पशु रोग बिरुद्धको औषधि बितरण तथा परार्मश सेवा बितरण गरिएको पालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज देवकोटाले जानकारी दिनुभयो ।

सेवा बितरण अन्र्तगत शुक्रवार पञ्जीकरणतर्फ ८ जनाको जन्मदर्ता तथा दुईजनाको मृत्यु दर्ता गरिएको पालिकाका एमआईएस अपरेटर लीलानाथ पौडेलले जानकारी दिनुभयो । यस्तै बिभिन्न कार्य प्रयोजनका लागि वडा कार्यालयकोतर्फबाट ३ वटा सिफारिस पत्र बितरण भएको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनका वडा सचिव दीपक सिंहले बताउनुभयो । शिविरमार्फत तीनवटा व्यवसायको नविकरण गरिएको सिरिजङ्गा गाउँपालिकाको प्रशासन शाखाका भवानीराज लामिछानेले जानकारी दिनुभयो ।

नेपाल बैंक लिमिटेड तेल्लोक शाखामार्फत २१ जना सेवाग्राहीको स्थलगत रुपमै बैंक खाता खोल्ने सहितका बैंकिङ परार्मश सेवा बितरण भएको शाखाका कर्मचारी मिलन बिकले बताउनुभयो । पालिकाका सूचना अधिकारी तथा स्वास्थ्य संयोजक संजीव सिंहका अनुसार शिविरको चौथो दिनपनि सेवा लिन उल्लेख्य मात्राका सेवाग्राही शिविरमा उपस्थित भए । वडा नं ६ बाट सुरु भएको घुम्ति शिविर चैत ७ गते पालिकाको केन्द्र तेल्लोक आएर टुङ्गिने प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो ।

एकीकृत घुम्ति शिविरमा जन्म,मृत्यु,बिबाह,बसाँईसराई सहितका कार्य हुने व्यक्तिगत घटना दर्ता,बैंक खाता खोल्ने,व्यवसाय दर्ता तथा नविकरण,निःशुल्क औषधि बितरण तथा चेकजाँच र उपचार र गाउँपालिका तथा वडाबाट सञ्चालन हुने योजनाको प्राविधिक मूल्याङ्कन,सम्झौता र अनुगमन सहितका कार्य हुँदै आएका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts