| | |

पाथीभरा केबलकारको काम अघि बढाउन निजी क्षेत्रको माग

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १ । ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकार परियोजनाको काम अघि बढाउन स्थानीय निजी क्षेत्रले माग गरेका छन् । पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले निर्माण गर्न लागेको केबलकार परियोजनाका लागि वातावरण सहज बनाई काम अघि बढाउन निजी क्षेत्रले माग गरेका हुन् ।
जिल्लास्थित ताप्लेजुङ उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै केबलकार परियोजनाको काम अघि बढाउन माग गरेका हुन् । पाथीभरामा केबलकार निर्माणको काम सुरु गर्न सम्बद्ध सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारले परियोजनामा देखिएको समस्याको सहजीकरण गरी तत्काल काम थाल्नुपर्ने निजी क्षेत्रले उल्लेख गरेका छन् ।
पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धि गरी ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु आवश्यक रहेको उल्लेख गर्दै परियोजना निर्माणमा कसैले अवरोध गर्न नहुने विज्ञप्तिमा उल्लेख गरेका छन् । केबलकार निर्माणपछि सञ्चालनमा आउँदा जिल्लाको अर्थतन्त्र चलायमान हुने र रोजगारी लगायतका थुप्रै अवसर सिर्जना हुनेभन्दै निजी क्षेत्रले काम थाल्नुपर्ने माग गरेका हुन् ।
अर्बौं रुपियाँको लगानीमा निर्माण हुन लागेको केबलकार परियोजनाले समग्र जिल्लाको आर्थिक विकासमा ठूलो योगदान पुग्नेमा स्थानीय निजी क्षेत्र विश्वस्त छन् । परियोजनाले जिल्लाको पर्यटन प्रवर्द्धन तथा विकासमा थप सहयोग पुग्ने पनि निजी क्षेत्रको बुझाइ रहेको छ । परियोजनाप्रति सबै पक्ष जिम्मेवार भएर काम र लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनीहरुको भनाइ छ ।
परियोजनाका लागि आवश्यक सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वार्ता र संवादका माध्यमबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको धारणा रहेको छ । केबलकार परियोजना ताप्लेजुङवासीको हितमा रहेकाले सबै पक्षबीच सहमति र समझदारी जुटाई कामलाई अघि बढाउनुपर्ने निजी क्षेत्रले अपिल गरेका छन् । केबलकार निर्माणले ताप्लेजुङ मात्र नभएर पाँचथर र इलाम जिल्लालाई पनि फाइदा पुग्ने उल्लेख गरेका छन् ।
यस्तै प्रसिद्ध धार्मिकस्थल पाथीभरा मात्र नभई कञ्चनजंघा हिमालसहित यहाँको पर्यटकी गन्तव्यमा आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि गर्न केबलकारले टेवा पुग्ने निजी क्षेत्रको बुझाइ छ । जिल्लाको समृद्धिका लागि केबलकार परियोजना अति आवश्यक भएकाले काम सुरु गर्न ढिलाई गर्नु नहुने र कसैले बाधा अवरोध नगर्न पनि उनीहरुले आग्रह गरेका छन् ।
यता उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सुरु गरेदेखि मुक्कुमलुङ संयुक्त संघर्ष समितिले विरोध गर्दै आएको छ । पाथीभरा (मुक्कुमलुङ) आदिवासी जनजाति लिम्बू समुदायको पवित्र धार्मिक मुन्धुमीस्थल भएकाले केबलकार कुनै पनि हालतमा बनाउन नहुनेभन्दै समितिले आन्दोलन गरिरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts