| |

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा तेह्रथुमका नवीन सिलवाल र विवेक कन्दङ्वाको जोडी प्रथम भएको छ । पाँचथरका दीपक आङ्देम्बे र दिवस शङ्खरको जोडीलाई हराउँदै मेन्स डबल सिनियरतर्फ नवीन र विवेकको जोडी प्रथम भएको हो ।
प्रथम अर्थात विजेता बनेको नवीन र विवेकको जोडीले ३० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ । उपविजेता बनेको पाँचथरका दीपक र दिवसको जोडीले ट्रफी, मेडल र प्रमाणपत्रसाथ नगद २० हजार रुपियाँमा चित्त बुझाउनुपरेको छ ।
यस्तै मेन्स डबल भेट्रान्स (४५ वर्षमाथि) तर्फ पाँचथरको गणेशबहादुर राई र दीपक आङ्देम्बेको जोडी प्रथम भएको छ । ताप्लेजुङको सन्तोष चोङ्बाङ र गजेन्द्र थलङको जोडीलाई हराउँदै विजेता बनेको गणेशबहादुर र दीपकको जोडीले ट्रफी, मेडल र प्रमाणपत्रसहित २० हजार रुपियाँ नगद पुरस्कार पाएको छ । उपविजेता बनेको सन्तोष र गजेन्द्रको जोडीले नगद १५ हजार रुपियाँ प्राप्त गरेको छ ।
सरकारी कर्मचारी डबलतर्फ आयोजक पाथीभरा याङ्वरक गाउँपालिकाका शिवकुमार काम्बाङ र केशव पौड्यालको जोडी प्रथम भएको छ । मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङको जोडी द्वितीय भएको छ । यस खेलमा प्रथम र द्वितीय बनेका खेलाडीले क्रमशः ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद २० हजार रुपियाँ र १५ हजार रुपियाँ प्राप्त गरेका छन् ।
त्यस्तै मिक्स डबलतर्फ प्रेम माबो र भावनादेवी केदेमको जोडी प्रथम तथा लासाङ तामाङ र शिवकुमार काम्बाङको जोडी द्वितीय बनेको छ । प्रथम बनेको जोडीलाई १५ हजार र द्वितीयलाई १० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल जुनियर, मेन्स डबल स्थानीय तहजस्ता खेलको वर्गीकरण गरी प्रतिस्पर्धा गराइएको थियो ।
पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नो सातौं स्थापना दिवसको अवसरमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । आइतबार सुरु भई बुधवार सम्पन्न भएको प्रतियोगिताका बिजेतालाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरे लगायतले पुरस्कार वितरण गर्नुभयो । गाउँपालिकाका अनुसार प्रतियोगितामा ३० जोडीभन्दा खेलाडीले विभिन्न वर्गअन्तर्गतका खेलमा सहभागिता जनाएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts