| |

मैवाखोलाका विद्यालयमा सीसी क्यामरा जडान

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ३० । शैक्षिक गुणस्तर तथा व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विद्यालयमा सीसी क्यामरा जडान गर्न थालिएको छ । शैक्षिक सुधारका लागि विद्यालयमा सीसी क्यामरासँगै बायोमेट्रिक इ–हाजिरी र स्मार्ट बोर्डसमेतको व्यवस्था गर्न सुरु गरिएको हो ।
पछिल्लो समय खस्किँदै गएको शैक्षिक अवस्थालाई दुष्टिगत गरी शिक्षा क्षेत्रलाई गुणस्तरीय, व्यवस्थित, अनुशासित तथा मर्यादित बनाउनसमेत विद्यालयमा सीसी क्यामरा लगायतका प्रविधि जडान गरिएको हो । मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघुको मैवाखोला माध्यमिक विद्यालय तेम्बेमा सीसी क्यामरा जडान गरिएको छ । विद्यालयका अनुसार विद्यालय परिसर, कार्यालय, कक्षाकोठा लगायतको निगरानी गर्न सकिने गरी क्यामरा जडान गरिएको हो ।
यसअघि मैवाखोला गाउँपालिका–३ साँघुस्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सीसी क्यामरा, इ–हाजिरी र स्मार्टबोर्ड जडान गरिएको छ । गाउँपालिकाको नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत सीसी क्यामरा लगायतका प्रविधि जडान गरिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
अध्यक्ष वनेमका अनुसार नेपाल सरकारको नमुना विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत नारायणी मावि साँघुमा सीसी क्यामरा जडान गरिएको थियो । उहाँले गाउँपालिकाको छुट्टै नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत मैवाखोला माविमा पनि उक्त प्रविधि जडान गरिएको जानकारी दिनुभयो । पालिकाभित्रका अन्य माध्यमिक विद्यालयमा पनि क्रमशः इन्टरनेट सेवा विस्तार गरी नमुना विद्यालय विकास कार्यक्रम लागू गर्दै जाने गाउँपालिकाको योजना रहेको अध्यक्ष वनेमले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts