ताप्लेजुङको सिरिजङ्गाद्धारा वडा नं ६ मामाङ्खेबाट एकीकृत सेवा बितरण सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको आयोजनामा प्रत्येक वडाका नागरिकलाई घरदैलोमै सेवा पु¥याउन १० दिने एकीकृत घुम्ति शिविर सुरु भएको छ । पालिकाका सूचना अधिकारी तथा स्वास्थ्य संयोजक संजीव सिंहका अनुसार शिविरको पहिलो दिन सेवा लिनका लागि उल्लेख्य सेवाग्राही सेवा बितरणस्थलमा भेला भएका छन् । शिविरमा गाउँपालिकाले बितरण गर्ने सेवाका अलवा मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा आँखाको रोगीहरुको उपचार तथा परीक्षण समेत भइरहेको छ ।

वडा नं ६ मामाङ्खेबाट सुरु भएको घुम्ति शिविर चैत ७ गते पालिकाको केन्द्र तेल्लोक आएर टुङ्गिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिकामा ८ वटा वडा रहेका छन् । नेपालीका अनुसार वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिनका सेवाग्राहीलाई समेत लक्षित गरी वडा नं ७ खेवाङस्थित गणेश माविमा ३० गते,वडा नं १ सिनामस्थित सिनाम माविमा चैत १ गते एकिकृत घुम्ति शिविर सञ्चालन हुने भएको छ ।

चैत २ गते वडा नं २ आम्बेगुदिनस्थित रजा माविमा,३ गते वडा नं ३ सिकैचास्थित सरस्वती मावि कुञ्जारीमा तथा ४ र ५ गते वडा नं ५ पेदाङ र वडा नं ४ तेल्लोकका सेवाग्राहीलाई समेत लक्षित गरी पालिकाको केन्द्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा एकीकृत घुम्ति शिविर हुने भएको छ । शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका प्रमुख डाक्टर सञ्जित भट्टराईको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरिरहेको छ ।

गाउँपालिकाले मोतियाबिन्दुमुक्त गाउँपालिका बनाउने गरी अभियान सञ्चालन समेत गरिरहेको छ । चैत ५,६ र ७ गते पालिकाको केन्द्र तेल्लोकमा मोतियाबिन्दुको शल्यकृयाका लागि छनौट भएका बिरामीहरुको आँखाको शल्यकृया समेत गर्ने तयारी रहेको पालिकाले जनाएको छ । मेची आँखा अस्पतालका नेत्र सहायक निरज दाहालका अनुसार मामाङ्खेमा ६० जना आँखाका बिरामीको परीक्षणका क्रममा ८ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् ।

एकीकृत घुम्ति शिविरमा जन्म,मृत्यु,बिबाह,बसाँईसराई सहितका कार्य हुने व्यक्तिगत घटना दर्ता,बैंक खाता खोल्ने,व्यवसाय दर्ता तथा नविकरण,निःशुल्क औषधि बितरण तथा चेकजाँच र उपचार र गाउँपालिका तथा वडाबाट सञ्चालन हुने योजनाको प्राविधिक मूल्याङ्कन,सम्झौता र अनुगमन सहितका कार्य हुने भएका छन् ।

शिविरको उद्घाटन सत्रमा पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू,प्रमुख प्रशासकीय अधिकृत नेपाली,वडा नं ६ का वडाध्यक्ष सुखराज मावो,गाउँसभाका सदस्यहरु तथा पालिकाका बिभिन्न बिषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts