ताप्लेजुङमा दुई कृतिमाथि विमर्श
-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङमा साहित्यकारद्वय विमल बैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसम्वाद कार्यक्रममा साहित्यकार बैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित परिसम्वादमा बैद्यको कृति ‘युगको तटमा उभिएर’ र जोशीको ‘प्रश्नहरु बाँकी नै रहन्छन्’ कृतिमाथि विमर्श गरिएको छ । काठमाडौंबाट आएका प्रतिष्ठानमा आवद्ध साथै स्थानीय साहित्यकार र पत्रकारहरु सहभागी रहेको कार्यक्रममा उक्त दुई कृतिको विमर्श गरिएको हो ।
परिसम्वादमा साहित्यकार महेश पौड्यालले दुई कृतिसँग सम्बन्धित सवालहरु उठाउनुभएको थियो । आ–आफ्नो कतिमाथि उठान भएको सवालबारे साहित्यकार विमल बैद्य र मोमिला जोशीले कृति रचना र लेखनका प्रसंगसहित प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा साहित्यकार डा. सावित्री मल्ल र उषा शेरचनले कृतिको मूल्यांकन गर्दै चर्चा गर्नुभएको थियो ।
त्यस्तै परिसम्वाद कार्यक्रममा सहभागी साहित्यकार तथा पत्रकारहरुले पनि साहित्यकार बैद्य र जोशीको कृतिका विषयमा जिज्ञासा साथै चासो राख्नुभएको थियो । केही श्रष्टाले आफ्नो साहित्यिक रचनासमेत सुनाउनुभएको थियो । कार्यक्रममा वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवस पनि उपस्थिति रहेको थियो । प्रतिष्ठानले शनिबार फुङ्लिङमै सिर्जना उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको थियो ।