| |

रैथाने बालीको प्रवर्द्धन गर्न जोड

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङमा रैथाने बालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको छ । किसानको आयआर्जन बढाउन साथै बाली संरक्षणका लागि जिल्लामा उत्पादन हुने रैथाने तथा नगदेबालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको हो ।
सदरमुकाम फुङ्लिङमा आयोजित ‘कृषि उद्यमशिलताको सम्भावना’ विषयक कार्यशाला गोष्ठीका सहभागीले रैथाने बालीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् । मुना कृषि लिमिटेडको आयोजना तथा जिल्ला समन्वय समितिको संयोजनमा भएको गोष्ठी सोमबार सम्पन्न भएको हो । गोष्ठीमा पछिल्लो समय रैथाने बाली लगाउन छोड्नाले उत्पादन न्युन हुँदै गएको र कतिपय रैथाने बाली लोप हुने अवस्था आएकाले संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको सहभागीले बताएका हुन् ।
गोष्ठीमा सहभागी फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले रैथाने बाली प्रवर्द्धन गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले रैथाने बाली संरक्षण गर्दै प्रवर्द्धन गर्ने कार्यमा किसानको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । यस्तै मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर)ले पनि रैथाने बाली लगाउन चलन हराउँदै गएकाले प्रवर्द्धनको खाँचो रहेको धारणा राख्नुभयो ।
मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले पनि रैथाने बाली प्रवर्द्धनका लागि खेतीमा जोड दिनुपर्ने बताउनुभयो । रैथाने बाली लगाउनमा स्थानीय किसान जागरुक हुनुपर्ने र यसका लागि स्थानीय सरकारले सहयोग तथा प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो ।
यता गोष्ठीमा स्थानीय तहको सहकार्यमा मकै, फापर, भटमास, सूर्यमुखीजस्ता रैथाने बाली प्रवर्द्धनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने विषयमा छलफल भएको छ । मुना कृषि लिमिटेडकी प्रमुख प्रवन्धक सीता पाण्डेका अनुसार रैथाने बाली प्रवर्द्धनको कामसँगै उत्पादित वस्तुको प्रशोधन र बजारीकरणका लागि आवश्यक पहल गर्ने निर्णयसमेत भएको छ ।
जिल्लास्तरीय कार्यशाला गोष्ठी जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खिमको अध्यक्षतामा सम्पन्न भएको छ । गोष्ठीमा स्थानीय जनप्रतिनिधि, विभिन्न कृषि तथा सहकारी संघ–संस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरुको सहभागिता रहेको थिया् । रैथाने बाली प्रवर्द्धनको योजनासम्बन्धी प्रस्तुति मुना कृषि लिमिटेडकी प्रमुख प्रवन्धक पाण्डेले गर्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts