पर्यटन प्रवर्द्धनसँगै पत्रकारहरुको वनभोज सम्पन्न
-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २० । ताप्लेजुङका पत्रकारहरुले पर्यटन प्रवर्द्धनलाई जोड दिँदै वनभोज कार्यक्रम आयोजना गरेका छन् । आपसी भातृत्वलाई सुमधुर बनाउन साथै पर्यटकीय गन्तव्य तथा स्थलको प्रचारप्रसारमा टेवा पु¥याउने उद्देश्यले स्थानीय पत्रकारहरुले वनभोज कार्यक्रम आयोजना गरेका हुन् ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको संयोजनमा वनभोज कार्यक्रम आयोजना गरिएको थियो । शाखा अध्यक्ष आनन्द गौतमका अनुसार पर्यटकीय स्थल सुकेटारमा शनिबार वनभोज कार्यक्रम सम्पन्न गरिएको हो । मनोरञ्जन तथा रमाइलोका लागि मात्र नभई पत्रकारहरुबीचको भातृत्वलाई सदैव सुमधुर बनाउन साथै पर्यटन प्रवर्द्धन गर्न वनभोज आयोजना गरिएको गौतमले बताउनुभयो ।
जिल्लाको पर्यटन प्रवर्द्धन गर्न र प्रचारप्रसारको माध्यमबाट ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई सबैसामु चिनाउनका लागि वनभोज आयोजना गरिएको शाखा अध्यक्ष गौतमको भनाइ छ । आकर्षक पर्यटकीय स्थलका रुपमा रहेको सुकेटार क्षेत्रमा वनभोज कार्यक्रम गरिएकाले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखिएको उहाँले बताउनुभयो ।
उहाँले स्थानीय प्रशासन तथा सुरक्षा प्रमुख, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) लगायतलाई वनभोजमा सहभागी गराएको बताउनुभयो । स्थानीय पत्रकार तथा अतिथिहरुबीच सम्भावित पर्यटकीय गन्तव्यबारे अवगत भएको र यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखाले विश्वास लिएको छ ।
यस्तै महासंघ शाखाका पूर्वअध्यक्ष खगेन्द्र अधिकारीले पर्यटकीय जिल्लाको प्रवर्द्धन र प्रचारप्रसार गर्ने दायित्व स्थानीय पत्रकारहरुको पनि भएको बताउनुभयो । पत्रकारितालाई पर्यटन प्रवर्द्धनसँग जोड्न सकेमा पर्यटन विकासमा टेवा पुग्नेभन्दै पर्यटन पत्रिकारिताका लागि वनभोज कार्यक्रम सहयोगी भएको आफूले महशुस गरेको अधिकारीले बताउनुभयो । जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पर्यटन पत्रकारिता गर्नुपर्ने आवश्यक रहेको पनि उहाँको भनाइ छ ।
प्राय, वनभोज कार्यक्रमहरु जिल्लाका रमणीय तथा पर्यटकीय स्थलहरुमा आयोजना गर्ने गरिएकाले पछिल्लो समय यस्ता कार्यक्रमहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्यटन प्रवर्द्धनमा सहयोगी बनिरहेको जिल्लाका अग्रज पत्रकार एवम् शाखाका पूर्वसभापति किशोर राईको बुझाई रहेको छ । पत्रकारितामार्फत पर्यटन प्रवर्द्धन गर्न सबै पत्रकारले अग्रसरता देखाउनुपर्ने पनि उहाँले बताउनुभयो ।
वनभोज कार्यक्रम महासंघ शाखाकी उपाध्यक्ष गंगा लिङ्खिमको व्यवस्थापकीय संयोजनमा आयोजना गरिएको हो । वनभोजमा पत्रकार महासंघका सदस्य, जिल्लामा सञ्चालित स्थानीय रेडियो, पत्रपत्रिका, अनलाइन लगायतका सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरु सहभागी भएका थिए ।