ताप्लेजुङमा सञ्चालित तीनदिने शल्यकृया सहितको आँखा शिविरमा १५४ जनाको शल्यकृया,झण्डै तेह्रसयले लिए सेवा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १८ । विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले गृह जिल्ला ताप्लेजुङमा १ सय ५४ जनाको मोतियाबिन्दु भएका आँखाका रोगीको शल्कृया गरेको छ ।

बिहीबार १ सय २ र शुक्रवार ५२ जनाको शल्यकृया गरेको आयोजक नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ । शिविरमा १ हजार २ सय ८१ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । शिविरमा आउनका लागि ७ सय ८१ महिला र ५ सय ४६ पुरुष गरी १ हजार ३ सय २७ जनाले नाम दर्ता गराएकामा ४६ जना भने सम्पर्क नआएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार शिविरको पहिलो दिन बुधवार ६ सय ८१,दोस्रो दिन बिहीबार ४ सय ५६ र तेस्रो तथा अन्तिम दिन शुक्रवार १ सय ९० जनाले नाम दर्ता गराएका थिए । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन संगको सहकार्यमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यकृया सहितको आँखा शिविर सञ्चालन गरेको हो ।

नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार शिविरमा विगत दुईबर्ष देखि दुबै आँखा बन्द भएका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ का बमप्रसाद योङहाङका दुबै आँखाको शल्यकृया गरिएको छ । तिलगंगाको टोलीले फ्याको सर्जरी विधिद्धारा पनि आँखाको शल्यकृया गरेको थियो । मोतियाबिन्दुको आँखाको शल्यकृया गर्दा नयाँ र कम्युटराईज प्रविधिद्धारा गरिने शल्यकृयालाई फ्याको सर्जरी भनिन्छ ।

नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङका अनुसार यसअघि फागुन १३ गते मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुको परीक्षणका क्रममा २० तथा १४ गते मिक्वाखालाको खोक्लिङमा गरिएको आँखा परीक्षणका क्रममा १७ जना गरी कूल ३७ जना मोतियाबिन्दुका बिरामी भेटिएका थिए । उनीहरुको पनि फुङलिङकै शिविरमार्फत आँखाको शल्यकृया गरिएको गुरुङले जानकारी दिनुभयो । डाक्टर रुईत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts