गृह जिल्लामा डाक्टर रुईतद्धारा १ सय २ जनाको आँखाको शल्यकृया,थप ४० को शल्यकृया गर्ने तयारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १८ । विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले गृह जिल्ला ताप्लेजुङको फुङलिङमा १ सय २ जना मोतियाबिन्दुका बिरामीको आँखाको शल्यकृया गरेको छ ।

शुक्रवार थप ४० जनाको आँखाको शल्यकृया गर्ने तयारी रहेको आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन संगको सहकार्यमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यकृया सहितको आँखा शिविर सञ्चालन गरेको हो । शुक्रवार पनि आँखाको परीक्षण गरी मोतियाबिन्दुका बिरामी छनौट गर्ने र शल्यकृया गरिने नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताउनुभयो ।

शिविरमा विगत दुईबर्ष देखि दुबै आँखा बन्द भएका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ का बमप्रसाद योङहाङका दुबै आँखाको शल्यकृया गरिएको छ । तिलगंगाको टोलीले फ्याको सर्जरी विधिद्धारा पनि आँखाको शल्यकृया गरेको थियो । मोतियाबिन्दुको आँखाको शल्यकृया गर्दा नयाँ र कम्युटराईज प्रविधिद्धारा गरिने शल्यकृयालाई फ्याको सर्जरी भनिन्छ । बुधवारबाट सुरु भएको शिविरको पहिलो दिन ६ सय ८३ जना र दोस्रो दिन बिहीबार ४ सय ३४ जना गरी कूल १ हजार १ सय १७ जनाले फुङलिङमै आँखाको परीक्षण तथा उपचार गरेको क्लिनिक इञ्चार्ज गुरुङले बताउनुभयो ।

यसअघि फागुन १३ गते मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुको परीक्षणका क्रममा २० तथा १४ गते मिक्वाखालाको खोक्लिङमा गरिएको आँखा परीक्षणका क्रममा १७ गरी कूल ३७ जना मोतियाबिन्दुका बिरामी भेटिएका थिए । उनीहरुको पनि फुङलिङकै शिविरमार्फत आँखाको शल्यकृया गरिएको नेपाल नेत्रज्योति संघले जनाएको छ । डाक्टर रुईत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएको हो । डाक्टर रुईतलाई शुक्रवारै फुङलिङ नगरपालिका र नेपाल नेत्रज्योति संघ ताप्लेजुङको तर्फबाट नागरिक अभिनन्दन गर्ने तयारी गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts