ढुंगेसाँघुमा बिरुवा उत्पादन गर्न कृषि नर्सरी स्थापना

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बिरुवा उत्पादन गर्न कृषि नर्सरी स्थापना गरिएको छ । मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुले वडावासी किसानलाई बिरुवा वितरण गर्नेगरी नर्सरी स्थापना गरेको हो ।
वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार वडामा पहिलोपटक किसान लक्षित कृषि नर्सरी स्थापना गरिएको हो । करिव चारहजार ५०० सुन्तला तथा कागतीको बिरुवा उत्पादन गर्नेगरी नर्सरी स्थापना गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरीबाट अन्य मौसमी फलफूलका बिरुवा तथा उन्नत जातको घाँससमेत उत्पादन गरिने छ ।
चालू आर्थिक वर्षका लागि गाउँपालिकाबाट बिनियोजित एक लाख रुपियाँ बजेटले नर्सरी स्थापना गरिएको पनि वडाध्यक्ष तामाङले बताउनुभयो । कृषि क्षेत्रको प्रवर्द्धन गर्न र स्थानीय किसानलाई आत्मनिर्भर बनाउनमा सहयोग गर्ने वडा कार्यालयको लक्ष्यअनुसार कृषि नर्ससी स्थापना गरिएको उहाँको भनाइ छ । बिरुवा उत्पादन गरेर वडाबासी किसानलाई वितरण गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ ।