ताप्लेजुङको आठराई त्रिबेणीले कक्षा ८ को परीक्षाका लागि तोक्यो पाँचवटा केन्द्र,केन्द्राध्यक्ष समेत चयन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले चालू शैक्षिक सत्रको कक्षा ८ को परीक्षाका लागि पाँचवटा केन्द्र तोकेको छ ।

पालिकाका पाँचवटा वडामा प्रत्येकमा एक–एक परीक्षा केन्द्र हुनेगरी पाँचवटा केन्द्र कायम गर्ने गाउँ शिक्षा समितिले निर्णय गरेको पालिकाका कर्मचारी नारद गुरागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षाका लागि चाँगे मावि चाँगे,छातेढुङ्गा मावि चाँगे,सरस्वती नमूना मावि हाङ्पाङ,दुर्गा मावि फुलवारी र परमसिँहदेवी मावि निघुरादिन परीक्षा केन्द्र कायम भएका छन् । गुरागाँईका अनुसार पालिकामा आधारभूत(कक्षा १–८) सञ्चालन भएका १४ वटा बिद्यालय छन् । परीक्षा आउँदो चैत २ गते देखि १० गते सम्म सञ्चालन हुने भएको छ ।

कायम भएका पाँचवटा परीक्षा केन्द्रमध्ये चाँगे माविमा सोहि मावि र त्रिपुरेश्वर आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्ने छन् । यस्तै छातेढुङ्गा मावि चाँगेमा सो बिद्यालय र सरस्वती आधारभूत बिद्यालय सोबुवाका बिद्यार्थीले परीक्षा लेख्दा हाङपाङस्थित सरस्वती नमूना माविमा सोहि बिद्यालय संगै शान्ति आधारभूत बिद्यालय र जलकन्या आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्ने छन् । दुर्गा मावि फुलवारी परीक्षा केन्द्रमा दुर्गा मावि सहित सरस्वती मावि रमिते,गुप्तेश्वर मावि र देवी आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्नेछन् । यस्तै निघुरादिनस्थित परमसिँहदेवी माविमा सो बिद्यालय सहित सिंहदेवी आधारभूत बिद्यालय र फुगुवा आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् ।

परीक्षाका लागि केन्द्राध्यक्ष समेत तोकिएको पालिकाले जनाएको छ । जस अनुसार चाँगे माविमा मीनबहादुर लिम्बू,छातेढुङ्गा माविमा केशवप्रसाद गौतम,सरस्वती नमूना माविमा परमसिँहदेवी मावि निघुरादिनका प्रधानाध्यापक केशवप्रसाद निरौला,दुर्गा मावि फुलवारीमा सरस्वती नमूना माविका प्रधानाध्यापक चन्द्रप्रसाद तामाङ र परमसिँहदेवी मावि निघुरादिनमा दुर्गा मावि फुलवारीका प्रधानाध्यापक कूलप्रसाद भट्टराईलाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको समेत गुरागाँईले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्डको उद्घाटनका दिन बिद्यालय बिदा गर्ने तयारीमा आठराई त्रिबेणी
फागुन १ गते देखि ४ गते सम्म हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको दिन ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिका भरीका बिद्यालयहरुमा स्थानीय बिदा दिने तयारी गरेको छ । गाउँ शिक्षा समितिको शनिवार बसेको बैठकले उद्घाटनको दिन फागुन १ गते पालिका भरीका बिद्यालयहरुमा स्थानीय बिदा दिन उपयुक्त हुने राय कार्यपालिका समक्ष पेश गर्ने निर्णय गरेको पालिका स्रोतले जनाएको छ । आठराई त्रिबेणी गाउँपालिकाको कार्यपालिका बैठक आइतवारका लागि बोलाईएको छ । सो बैठकले अनुमोदन गरेमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुआतको दिन आठराई त्रिबेणी गाउँपालिका भरीका बिद्यालयमा स्थानीय बिदा लागु हुने छ ।

यसबर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १ देखि ४ गतेसम्म आठराई त्रिबेणी गाउँपालिका वडा नं २ मा अवस्थित दुर्गा मावि फुलवारी महभीर खेल मैदानमा सञ्चालन हुने छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजनामा हुन लागेको प्रतियोगितामा आठराई त्रिबेणी गाउँपालिका संयोजक रहेको छ । प्रतियोगिता अन्तगरत  ६ वटा बिधाका खेलमा ६६ स्वर्ण,६६ रजत र ७० कास्यका लागि नौ स्थानीय तहका बिद्यालयबीच प्रतिश्पर्धा हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts