माघ १५ सम्मको तापक्रम नियाल्दा ताप्लेजुङमा अघिल्लो बर्षभन्दा यो बर्ष न्यानो,महिना दिनमा एक मिलिमिटर बर्षा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २६ । ताप्लेजुङमा यो बर्ष जनवरी महिना(पुस १५–माघ १५)गतबर्षको भन्दा तुलनात्मक रुपमा केहि न्यानो देखिएको छ । कमै बर्षा भएपनि गतबर्षको भन्दा यसबर्ष बढी बर्षा भएको पाइएको जल तथा मौसम विभाग विज्ञान कार्यालय धरान,ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।

ताप्लेजुङ फिल्ड कार्यालयका इञ्चार्ज डेभिड ढकालका अनुसार गतबर्ष पुस १५ देखि माघ १५ को एक महिने अवधिमा सबैभन्दा न्यूनतम् तापक्रम २.४ डिग्री सेल्सियस रहेको थियो । यसबर्ष सोहि अवधिमा न्यूनतम् तापक्रम २.८ डिग्री सेल्सियस पाइएको ढकालले जानकारी दिनुभयो । त्यो माघ ११ गते कायम भएको न्यूनतम् तापक्रम थियो ।

माघ १५ सम्मको तथ्याङ्कलाई हेर्दा उक्त दिन नै यसबर्षको सबैभन्दा जाडो दिनको रुपमा मापन भएको छ । माघ १३ गते ताप्लेजुङमा एक मिलिमिटर बर्षा भएको फिल्ड कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गतबर्ष जनवरी महिनामा फाटफुट मात्र बर्षा भएको थियो अर्थात् अघिल्लो बर्षको सोहि अवधिको बर्षा मापनयोग्य थिएन । यसबर्षको जनवरी महिनामा औसत अधिकतम् तापक्रम १५.५ डिग्री सेल्सियस र सबैभन्दा अधिकतम् तापक्रम पुस २८ गते १९.२ डिग्री सेल्सियस मापन भएको छ ।

अघिल्लो बर्ष सोहि अवधिमा औसत अधिकतम् तापक्रम १६.३ डिग्री सेल्सियस र सबैभन्दा अधिकतम् तापक्रम २१ डिग्री सेल्सियस मापन भएको थियो । यसबर्षको जनवरी महिनामा औसत न्यूनतम् तापक्रम ४.७ डिग्री सेल्सियस मापन भएको छ । अघिल्लो बर्षको सोहि अवधिमा औसत न्यूनतम् तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts