ताप्लेजुङको फुङलिङ नगरपालिकामा सुरुभयो नेपाल बैंकको एक्सटेन्सन काउन्टर

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २२ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा नेपाल बैंक लिमिटेडेको एक्सटेन्सन काउन्टर सुरु भएको छ ।

यो सहित कोशी प्रदेशमा तीन स्थानीय तहमा एक्सटेन्सन काउन्टरमार्फत सेवा सुरु भएको नेपाल बैंक लिमिटेड कोशी प्रदेशका मुख्य प्रवन्धक सूर्यप्रकाश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशमा फुङलिङ नगरपालिका,तेह्रथुमको म्याङलुङ नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा नेपाल बैंक लिमिटेडेको एक्सटेन्सनमार्फत सेवा प्रवाह हुन थालेको छ । तीन स्थानीय तह सहित कोशी प्रदेशभरीमा नेपाल बैंक लिमिटेडका ८ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको समेत भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार प्रदेशभरीमा भन्सार र कलेजमा २–२ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । प्रदेशभरीमा नेपाल बैंकका ३८ वटा शाखा छन् । ताप्लेजुङको फुङलिङमा एक र सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा एक गरी नेपाल बैंकका दुईवटा शाखा रहेका छन् ।

नेपाल बैंक लिमिटेड ताप्लेजुङका शाखा प्रवन्धक बसुन्धरा आचार्यका अनुसार फुङलिङ नगरपालिकामा सञ्चालनमा आएको एक्सटेन्सन काउन्टरमार्फत राजश्व दाखिला सहित आसपासका सेवाग्राही समेतलाई सहज हुने छ । नगरपालिकाको कार्यालय नजिक जिल्ला प्रशासन कार्यालय,जिल्ला मालपोत कार्यालय,जिल्ला नापी कार्यालय जस्ता सेवाग्राहीको बढी चाँप हुने कार्यालय रहेका छन् । नगरपालिकाको एक्सटेन्सन काउन्टरमार्फत सेवाग्राहीले रकम जम्मा गर्न तथा झिक्ने सहितका सबै बैंकिङ सुबिधा प्राप्त गर्ने नेपाल बैंक लिमिटेडले जनाएको छ ।‘दैनिक जनही बढीमा दुईलाख सम्मको रकम भुक्तानी दिन गाह्रो हुन्न,सो भन्दा बढी लिने अवस्थामा हामीलाई पूर्व जानकारी गराएपछि व्यवस्थापन गर्छौं’नेपाल बैंक लिमिटेडका शाखा प्रवन्धक आचार्यले भन्नुभयो ।

नगरपालिकाका लेखापाल भोलानाथ सिग्देलका अनुसार फुङलिङ नगरपालिकामा मात्रै करिव तीनसय वटा उपभोक्ता समितिमार्फत योजना सञ्चालन भइरहेका छन् । योजनाको रकम निकासा,राजश्व दाखिला,रकम जम्मा सहितका सेवा नगरपालिकामा रहेको एक्सटेन्सन काउन्टरमार्फत नै पूरा हुने भएपछि सेवाग्राहीलाई धेरै सहज हुने नेपाल बैंक लिमिटेड ताप्लेजुङका शाखा प्रवन्धक आचार्यले बताउनुभयो । गत साउनबाटनै एक्सटेन्सन काउन्टर सुरुहुने चर्चा हुँदै आएको थियो । सुरुमा एकजना कर्मचारी र एकजना सुरक्षागार्डमार्फत एक्सटेन्सन काउन्टरको व्यवस्थापन हुने भएको छ । सेवाग्राहीको चाँपका आधारमा थप जनशक्ति व्यवस्थापनको निर्णय हुने समेत नेपाल बैंक लिमिटेडले जनाएको छ ।

नगर उपप्रमुख भीमादेवी ओझाले एक्सटेन्सन काउन्टरको शुभारम्भ गर्दै यसले नगरपालिकामा समाबिष्ट भएका उपभोक्ता समिति,कर्मचारी र आसपासका सेवाग्राहीहरुलाई सहज हुने विश्वास लिनुभयो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बू,प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाँई,फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपाने सहितको उपस्थिति रहेको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts