शहीद दिवसको अवसरमा श्रीप्रसाद पराजुलीको स्मारक हाता सफाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १६ । ताप्लेजुङको फुङलिङस्थित श्रीप्रसाद पराजुलीको स्मारक हाता मंगलवार सफाई गरिएको छ ।

शहीद दिवसको अवसर पारेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका कोशी प्रदेशसभा सदस्य भीम पराजुलीको उपस्थितिमा स्मारक हाता सफाई गरिएको हो । केन्द्रीय सदस्य पराजुली नेपाली काँग्रेसले सुरु गरेको ‘समुदायमा काँग्रेस’अभियानका लागि ताप्लेजुङ प्रतिनिधि भएर फुङलिङ आउनु भएको हो । उहाँ विराटनगर महानगरपालिकाका पूर्व नगरप्रमुख समेत हुनुहुन्छ । सफाई कार्यक्रम पश्चात स्मारकमा माल्र्यापण समेत गरिएको थियो ।

काँग्रेसको राजनीतिमा निष्ठावान मानिनु भएका श्रीप्रसादको २०१९ साल बैशाख १९ गते प्रहरी थाना ताप्लेजुङमा निधन भएको थियो । बिक्रम् सम्वत १९६८ साल असोज १३ गते फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजेनिममा जन्मिनु भएका श्रीप्रसाद नेपाली काँग्रेसको स्थापनाकाल देखि नै सो पार्टीमा आवद्ध हुनुहुन्थ्यो । २०१५ साल देखि मृत्युपर्यन्त नेपाली काँग्रेस ताप्लेजुङका सभापति रहनु भएका श्रीप्रसाद २०११ देखि २०१५ सम्म काँगेसका जिल्ला उपसभापति २००८ देखि २०११ सम्म काँग्रेस जिल्ला सदस्य रहनु भएको थियो । २०१९ सालमा संचालन गरेको सशस्त्र आन्दोलनलाई सहयोग गरेको अभियोगमा तत्कालिन सरकारले घरबाटै गिरफ्तार गरी बन्दी बनाईएका उहाँको प्रहरी हिरासतमानै मृत्यु भएको थियो ।

श्रीप्रसादको स्मरणमा फुङलिङस्थित माथिल्लो बजार क्षेत्रमा २०५८ सालमा श्रीप्रसाद पराजुलीको स्मारक बनाईएको छ । स्मारक बनाईएको क्षेत्र अहिले पराजुली चौकका नामले परिचित छ । सफाई अभियान कार्यक्रममा नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,काँग्रेसका फुङलिङ नगरसभापति सुरेश सिंघक,जिल्ला कोषाध्यक्ष तारा बराल,नेपाल तरुण दलका केन्द्रीय सदस्य उदयकुमार आङवुहाङ र श्रीप्रसादकी नातिनी शान्ता पराजुली सहितको सहभागिता रहेको काँग्रेस ताप्लेजुङले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts