चालू आवको छ महिने अवधिमा ताप्लेजुङबाट गत आवको एक तिहाई हाराहारी मात्र राजश्व असुली

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १३ । चालू आर्थिक बर्ष २०८०।८१ को छ महिनाको अवधिमा गत आवभरीको एक तिहाई हाराहारी मात्र राजश्व असुली भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका कोष नियन्त्रक गणेशप्रसाद पोखरेलका अनुसार चालू आवको पुस मसान्त(साउन–पुस)को अवधिमा ९ करोड ८५ लाख ५६ हजार १ सय ६० रुपैयाँ राजश्व असुली भएको छ । आव २०७९।८० को एकबर्षे अवधिमा ३२ करोड २ लाख २१ हजार ३ सय ५१ रुपैयाँ राजश्व असुली भएको थियो ।
अर्धबार्षिक समिक्षाका दृष्टीले गत आवको राजश्व असुली भेट्न कठिन हुने प्रक्षेपण गरिएको छ । तर राजश्व असुलीका हिसावले नयाँ आर्थिक बर्ष सुरु भएको पहिलो र दोस्रो महिना कमजोर हुने तथा तुलनात्मक हिसावले तेस्रो देखि उताका महिना गतिशिल हुने अवस्था देखिन्छ । गत आव बराबर राजश्व असुली हुनका लागि बाँकी अवधिको ६ महिनामा २२ करोड बढी राजश्व असुली हुनु पर्छ ।
प्रदेश भन्दा संघीयतर्फको बजेट दोब्बर बढी खर्च
चालु आर्थिक बर्षमा ताप्लेजुङमा प्रदेश भन्दा संघीयतर्फको बजेट दोब्बर बढीले खर्च भएको पाइएको छ ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको छ महिनाकासंघीय सरकारतर्फको बजेटको ४६.३३ प्रतिशत खर्च हुँदा प्रदेश सरकारतर्फको भने २३.८० प्रतिशत खर्च भएको छ । कोष नियन्त्रक पोखरेलका अनुसार चालू र पुँजीगत गरी कूल संघीय सरकारतर्फ कूल ४ अर्व ६१ करोड १ लाख ६३ हजार रुपैयाँ बजेट रहेकोमा चालू आवको छ महिना अवधिमा २ अर्ब १३ करोड ५८ लाख ५७ हजार ४ सय ९८ रुपैयाँ खर्च भएको छ ।
यस्तै प्रदेश सरकारतर्फ चालू र पुँजीगत गरी कूल ६१ करोड ९१ लाख १२ हजार रुपैयाँ बजेट रहेकोमा चालू आवको छ महिना अवधिमा १५ करोड रुपैयाँ पनि खर्च भएन । कोलेनिकाका अनुसार प्रदेश सरकारतर्फ चालू आवको पुस मसान्त सम्ममा १४ करोड ७३ लाख ८७ हजार ६ सय १४ रुपैयाँ मात्र खर्च भएको छ ।