कार्य सम्पादनहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनमा मैवाखोलाले आफुलाई दियो ९० प्रतिशत अंक
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बार्षिक कार्य सम्पादनहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९० प्रतिशत बढी नतिजा प्राप्त भएको सूची सार्वजनिक गरेको छ ।
मैवाखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार १० वटा बिषयगत क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कन(आफुले कार्य सम्पादन गरेका बिषयमा आफैंले गरेको मूल्याङ्कन) मा ९०.५ प्रतिशत अंक प्राप्त भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ को अधिनमा रही पालिकाले १० वटा बिषय क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कन गरी नतिजा प्रकाशन गरेको हो । जस अनुसार कूल सय पूर्णाङ्कको स्वमूल्याङ्कनमा पालिकाले ९०.५ अंक प्राप्त गरेको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार ९ पूर्णाङ्कमा ८६.११ प्रतिशत अर्थात् ७.७५ अंक प्राप्त भएको छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासन ९३.६५ प्रतिशत अर्थात् ७.५ अंक प्राप्त भएको छ । यस्तै ११ पूर्णाङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९५.४५ प्रतिशत अर्थात् १०.५ अंक र ११ पूर्णाङ्ककै वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १० अंक अर्थात् ९०.९१ प्रतिशत नतिजा प्राप्त भएको पालिकाले जनाएको छ ।
पालिकाले १६ अंकको सेवा प्रवाह सम्वन्धी सूचकमा सत प्रतिशत अंक दिएको छ । ७ अंकको न्यायिक कार्य सम्पादनमा ८५.७१ प्रतिशत अर्थात् ६ अंक दिएको पालिकाले १३ पूर्णाङ्कको भौतिक पूर्वाधार सम्वन्धी सूचकमा ९ अंक अर्थात् ६९.२३ प्रतिशत नतिजा दिएको छ । यस्तै १० पूर्णाङ्कको सामाजिक समावेशीकरणमा ९० प्रतिशत अर्थात् ९ अंक दिएको छ भने ९ पूर्णाङ्कको वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा सत प्रतिशत अंक दिएको छ । ६ पूर्णाङ्कको समन्वय र सहकार्य सूचकमा ९०.५ प्रतिशत अर्थात् ५.७५ अंक दिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्वन्धी कार्यविधि २०७७ को परिच्छेद ३ मा स्वमूल्याङ्कनका प्रकृया र अंकभार सम्वन्धी व्यवस्था गरिएको छ । जस अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट अनुमोदन गरी ७ दिन भित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।