ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको चालू बर्षको बजेटको आकार ६ करोडले बढ्यो,फलफुल जुस उद्योग स्थापना गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको १४ औं गाउँसभा अधिबेशनले बिनियोजन ऐन २०८० लाई प्रथम शंसोधन गर्ने निर्णय गरेको छ । कूल ५० करोड ५४ लाख ७० हजार १ सय रुपैयाँको चालू बर्षको कूल बजेटलाई शंसोधन गर्दै बजेटको आकार बढाएर ५६ करोड ३५ लाख ७५ हजार ७ सय ४४ रुपैयाँ पु¥याईएको छ ।

पालिका अध्यक्ष लालकृष्ण चौहानको अध्यक्षतामा जारी गाउँसभा अधिबेशनले बुधवार उक्त निर्णय लिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । गाउँसभा अधिबेशनले आ.व २०७९।८० को अन्तिम लेखा परीक्षणबाट औंल्याईएको बेरुजुमध्ये २ करोड ५२ लाख ८३ हजार ६ सय ३ रुपैयाँको प्रमाण कागज जुटाई महालेखा परीक्षकको कार्यालयमा सम्परीक्षणमा लागि पेश गर्ने निर्णय लिएको छ । गाउँसभा अधिबेशनमा उपाध्यक्ष डाक्टर चित्र मावोले उक्त संख्याका कार्यक्रम तथा योजनाहरुको शंसोधन प्रस्ताव पेश गर्नु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार सिरिजङ्गा गाउँपालिकामा हुने विकास निर्माण,सेवा प्रवाहहरुको कडाईका साथ अनुगमन गर्ने निर्णय समेत गाउँसभा अधिबेशनले लिएको छ । पालिकाका जनप्रतिनिधि,कर्मचारी र अन्य सरोकारवालाको सहभागितामा यस्तो अनुगमन गरी सेवा बितरणको अवस्था र सुधारका उपायहरुको खोजी गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । बिनियोजन ऐन २०८० को प्रथम शंसोधन संगै पालिका क्षेत्रमा फलफुल जुस उद्योग स्थापनाका लागि बजेट बिनियोजन भएको छ । यस्तै पालिकाको केन्द्र तेल्लोकमा रहेको तेल्लोक माविमा स्वच्छव खानेपानीका लागि बजेट प्रवन्ध गर्ने,बिपद्ले क्षति पु¥याएको तावाखोला मोटरेवल पुल संरक्षणका लागि बजेट बिनियोजन गर्ने तथा पालिकाका वडा नं १,४,५,६,७ र ८ का प्रशासकीय भवनका सबै संरचनाहरुको निर्माण कार्य चालू आवमै पूरा गर्ने गरी बजेट शंसोधनको निर्णय भएको छ ।

गाउँसभा अधिबेशनले सिनाम माविमा निर्माणाधिन छात्रावास सम्पन्न गर्न थप बजेटको प्रवन्ध गर्ने,‘म स्वस्थ्य मेरो गाउँ स्वस्थ्य’अन्तरगत चालू आवमा सम्पन्न हुने गरी १० शैयाको अस्पतालका लागि बजेट बिनियोजन गर्ने,पालिकाको केन्द्र तेल्लोक लगायत आसपासका क्षेत्रहरुमा फोहोरमैला व्यवस्थापनका लागि ‘डम्पिङ साइट’निर्माण गर्न बजेटको प्रवन्ध गर्ने र पालिकाको केन्द्र तेल्लोक आउने सडक अन्तरगत आम्बेगुदिनको त्रिशुले वर देखि तेल्लोक सम्मको सडक स्तरोन्नती गर्ने गरी बजेटको प्रवन्ध गर्ने निर्णय समेत लिएको छ । गाउँसभा अधिबेशनमा पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्षहरु,बिषयगत शाखाका प्रमुखहरु,कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरुको उपस्थिति रहेको पालिकाले जनाएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts