| |

पाथीभराको सुन शुद्धीकरणपछि १७८ तोला कायम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २८ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा संकलन भएको सुन शुद्धीकरणपछि एकसय ७८ तोला बढी कायम भएको छ । पाथीभरामा संकलित सुन शुद्धीकरण (रिफाइन) पछि उक्त परिमाणमा शुद्ध अर्थात एक नम्बरी सुन कायम भएको हो ।
पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको सुन तथा सुनजन्य गरगहाना पाथीभरा क्षेत्र विकास समितिले संकलन गर्ने गरेको छ । संकलित सुनका गरगहानामध्ये पछिल्लो पटक शद्धीकरण गरिएको ९१ तोला ८९ लाल र पहिले शुद्धीकरण गरिएको ८६ तोला ९३ लालसमेत कुल १७८ तोला ८२ लाल शुद्ध सुन कायम भएको पाथीभरा क्षेत्र विकास समितिले बिहीबार प्रेस नोट प्रकाशित गरी सार्वजनिक गरेको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङद्वारा जारी प्रेस नोटअनुसार पछिल्लो पटक संकलन भएको ९८ तोला ४१ लाल सुनका गरगहाना शुद्धीकरण गरिएको थियो । उक्त परिमाणको सुन शद्धीकरणपछि ९१ तोला ८९ लाल कायम भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । यस्तै पाथीभरामा संकलन भएको ९२ किलोग्राम ६५० ग्राम चाँदी पनि शुद्धीकरण (रिफाइन) गरिएको छ । रिफाइनपछि ६१ किलोग्राम ८०० ग्राम शुद्ध चाँदी कामय भएको पनि समितिले जनाएको छ ।
यता सुन र चाँदी रिफाइन अर्थात शुद्धीकरण गरिसकेपछि अब लिलाम बिक्रीको प्रक्रिया सुरु अघि बढाइने कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँकाअनुसार सुन र चाँदी लिलाम बिक्रीपछि प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने छ । गएको मङ्सिर दोस्रो साता सम्ममा संकलन भएको सुन र चाँदी शुद्धीकरण गरिएको पनि समितिले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष अध्यक्ष रक्की थेबेका अनुसार भक्तजनले पाथीभरामा नगदका साथै सुन, चाँदी र अन्य धातुहरुको गरगहाना तथा सामग्री चढाउँदै आएका छन् । सुन र चाँदी रिफाइनको काम भने पाथीभरा सुनचाँदी कला व्यवसायी संघ ताप्लेजुङको प्राविधिक सहयोगमा गरिएको समितिले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts