सहज वातावरण बने काम थालेको १३ महिनामा पाथीभरामा केवलकार निर्माण गरिसक्छौं ः अध्यक्ष ढकाल

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ६ । पाथीभरा(मुकुम्लुङ)केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले काम थालेको १३ महिना भित्रमा पाथीभरा क्षेत्रमा केवलकारबाट यात्रा गर्न सकिने पूर्वाधार बनाउने घोषणा गर्दै केवल निर्माणका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष समेत रहनु भएका ढकालले केवलकार निर्माणले धार्मिक तथा प्राकृतिक सुन्दरता नबिगार्ने दावी गर्दै समुदायले अपेक्षा गरेको भन्दा बढी धार्मिक तथा प्राकृतिक सुन्दरताको जोगावट तथा जर्गेना हुने दावी गर्नुभयो । केवलकार निर्माण कम्पनीकातर्फबाट शुक्रवार फुङलिङमा आयोजित सर्वपक्षिय छलफलमा बोल्दै ढकालले काम थालेको १३ महिना भित्रमा केवलकारबाटै मानिसहरु आवतजावत गर्न सकिने अवस्था बनाउने बताउनुभयो । केवलकार निर्माणका लागि हामी लगानीकर्ताहरु उत्साहित भएर अग्रसर बनेका छौं,तपाईँहरु सबैले सहयोग गरिदिनुहोस्’उहाँले भन्नुभयो । काम थालनी गर्ने वातावरण तयार भए आफुहरुले तत्काल निर्माणको काम थाल्ने ढकालको भनाई थियो ।

कर्णालीको चिसापानीमा फागुन २३ गते केवलकारको शिलान्यास हुने भएकोले सो भन्दा केहिदिन अघि नै ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुने केलवकारको शिलान्यास गर्न पाउने वातावरण बनाईदिन ढकालको आग्रह थियो । उहाँले कम्पनीले खरिद गरेको जग्गाको बिषयका कारण शेयर रकम प्रभावित नहुने दावी समेत गर्नुभयो । आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले कूल लागतको १० प्रतिशत शेयर बितरण गर्ने योजना रहेको बताएको छ । केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका–११ को काफ्लेपाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य ९० हजार रुपैयाँ पर्ने जग्गा ९० लाख रुपैयाँप्रति रोपनीका दरले खरीद गरेको आरोप कम्पनी माथि लाग्दै आएको छ । ढकालले यसबाट सर्वसाधारणको शेयरमा कुनै असर नपर्ने बताउनुभयो । जनता,सरकार र समुदायलाई प्रत्यक्ष लाभ हुने तवरबाट केवलकार निर्माणको सोच अद्धि सारिएको भन्दै उहाँले केवलकार निर्माणले प्राकृतिक,साँस्कृतिक र वातावरणीय समस्या निम्त्याउने आशंका नपाल्न समेत आग्रह गर्नु भएको छ ।

कम्पनीका ईञ्जिनियर बिजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेशन रहने केवलकारको डिजाइन अनुसार त्यहाँबाट करिव २ हजार ७ सय मिटर उचाईमा रहेको पाथीभरा क्षेत्र सम्म पुग्ने छ । मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्धारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केवलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताउनुभयो । मुख्य स्टेशनबाट १० मिनेट २० सेकेण्डमा केवलकारको अन्तिम स्टेशन पुग्न सकिने समेत पौडेलले जानकारी दिनुभयो । केवलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले जानकारी दिनुभयो ।

४५ वटा डब्बा रहने र ४३ वटा डब्बामा तीर्थालु आवतजावत गर्न सकिने पौडेलले जानकारी दिनुभयो । एउटा डब्बामा अप्रेशन टिम र अर्को डब्बामा मालसामान ओपारपसार गर्ने गराउने कम्पनीको तयारी रहेको छ । तल्लो स्टेशनमा स्टेशन भवन,बोर्डिङ क्षेत्र,टिकट बुकिङ सेन्टर,शौचालय,पार्किङ र कार्यरत जनशक्ति आवास कक्ष हुने छ भने माथिल्लो स्टेशनमा स्टेशन भवन,शौचालय,स्वास्थ्य हेरचाह केन्द्र,चिया कफी स्टेशन र टिकट काउन्टर क्षेत्र हुने कम्पनीले जनाएको छ । केवलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले पर्यटन प्रवद्र्धन,रोजगारी सृजना,वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवद्र्धनका लागि केवलकार लाभदायक बन्ने बिश्वास लिनुभयो ।
केवल निर्माणका पक्ष र बिपक्षमा बहस
केवलकार निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने तथा पाथीभरा क्षेत्रको प्राकृतिक सन्तुलन कायम राख्न केवलकार निर्माण गर्न नहुने मत शुक्रवारको सर्वपक्षिय छलफलमा समेत प्रकट भएको छ । मुकुम्लुङ संघर्ष समितिका प्रतिनिधिहरुले केवलकार निर्माण गर्न नहुने तर्क गर्नु भएको थियो भने अन्य सरोकारवालाले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ हुनेगरी केवलकार निर्माणको कार्य तत्काल थाल्नुपर्ने मत प्रकट गर्नु भएको थियो ।

प्रतिनिधिसभाका सांसद लिलादेवी बोखिम,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन सहितका जनप्रतिनिधिले केवलकार निर्माणका पक्षमा तर्क राख्नु भएको थियो । मुकुम्लुङ संघर्ष समितिकातर्फबाट खगेन्द्र फेम्बो लिम्बू र श्री लिङखिमले केवलकार निर्माणले पाथीभरा क्षेत्रको प्राकृतिक तथा साँस्कृतिक महत्व नष्ट गर्ने दावी गर्दै केवलकार निर्माण गर्न नहुने राय राख्नु भएको थियो । कार्यक्रममा उपस्थित अधिकाँस राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले केवलकार निर्माण गर्नुपर्ने राय राख्दै केहि प्राविधिक पक्षमा समस्या भए त्यसलाई समेत समायोजन गरेर अघि बढ्नुपर्ने बताउनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts