हर्कमान दिलमाया शंकर स्मृति प्रतिष्ठानद्धारा शान्ति आविका बिद्यार्थीलाई छात्रबृत्ति तथा शैक्षिक सामाग्री प्रदान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस ५ । हर्कमान दिलमाया शंकर स्मृति प्रतिष्ठानले बिहीबार ताप्लेजुङको फुङलिङस्थित शान्ति आधारभूत बिद्यालयका उत्कृष्ट बिद्यार्थीलाई छात्रबृत्ति तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

प्रतिष्ठानले छात्रतर्फ प्रायन घिमिरे तथा छात्रातर्फ आशिका तामाङलाई छात्रबृत्ति प्रदान गरेको हो । प्रतिष्ठानमार्फत सो बिद्यालयका सबै बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको बिद्यालयका शिक्षिका रिता श्रेष्ठ प्याकुरेलले जानकारी दिनुभयो । हर्कमान दिलमाया शंकर स्मृति प्रतिष्ठानले उत्कृष्ट छात्रछात्राहरुलाई छात्रबृत्ति तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्न बिद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष खडा गरेको छ । सो कोषको ब्याज रकमबाट छात्रबृत्ति तथा शैक्षिक सामाग्री प्रदान गर्ने गरिएको बिद्यालयका प्रधानाध्यापक खगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार यो बर्ष हर्कमान दिलमाया शंकर स्मृति प्रतिष्ठानको तेस्रो स्मृति सभा हो ।

बुबा हर्कबहादुर,आमा दिलमाया तथा श्रीमति दिलमायाको स्मृतिमा फुङलिङ नगर कार्यपालिका सदस्य समेत रहनु भएका फुङलिङ–२ निवासी गंगाराम शंकर र उहाँको परिवारले बिद्यालयमा स्मृति प्रतिष्ठानमार्फत अक्षयकोष खडा गर्नु भएको छ । गंगारामका अनुसार बिक्रम् सम्वत् १९७७ सालमा जन्मनु भएका बुबा हर्कबहादुरको २०६४ साल फागुन १५ गते,१९९९ सालमा जन्मनु भएका आमा दिलमायाको २०७२ साल मंसिर २९ गते तथा २०४१ साल पुस १७ गते जन्मनु भएका श्रीमति दिलमायाको २०७५ साल पुस ५ गते निधन भएको थियो ।

आमा–बुबा र श्रीमतिको देहान्त पछि आफुले केहि सामाजिक काम गर्ने मनशायका साथ प्रतिष्ठान स्थापना गरेर सोहि प्रतिष्ठानमार्फत उक्त बिद्यालयमा अक्षयकोष खडा गरिएको गंगारामले जानकारी दिनुभयो । फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपानेको प्रमुख आथित्यतामा भएको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कार्की,शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ भट्टराई,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,प्रतिष्ठानका सञ्चालक गंगाराम सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts