ताप्लेजुङमा सुरु प्रथम कञ्चनजंघा सेसेलुङ आमन्त्रित फुटबल प्रतियोगितामा सुनसरीको बिजयी सुरुआत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ४ । ताप्लेजुङको फुङलिङमा सुरु प्रथम कञ्चनजंघा सेसेलुङ आमन्त्रित फुटबल प्रतियोगितामा सुनसरीको चकरघट्टी फुटबल क्लवले बिजयी सुरुआत गरेको छ ।

गृह मैदानमा कञ्चनजंघा फुङलिङ क्लवलाई २–१ ले पराजित गर्दै आमन्त्रित चकरघट्टी फुटबल क्लवले आयोजक कञ्चनजंघा फुङलिङ क्लवलाई पाखा लगाएको छ । चकरघट्टी फुटबल क्लवको जितमा आकाश राई निर्णायक बन्नुभयो । पहिलो हाफमा कमजोर रक्षापंक्तिलाई छक्याएर मैदानको मध्यभागबाट बल अगाडि बढाउनु भएका उहाँले पोष्टमा प्रहार गोलले सिधै जाली चुम्यो र १–० को नतिजा बन्यो । १–० ले पछि परेको अवस्था उल्टाएर आयोजक कञ्चनजंघा फुङलिङ क्लवका अनुप सेन्दाङ लिम्बूले ‘हेडअफ डिबक्स’ गोल गर्दा खेल बराबरीमा पुग्यो । तर, दोस्रो हाफको सुरुआतमै आकासले चकरघट्टीका लागि व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जीततर्फ उन्मुख गराउनुभयो । यसअघि चकरघट्टीका बलराम राईले प्रहार गरेको फ्रि–किक कञ्चनजंघा फुङलिङ क्लवतर्फको पोष्टबारमा लागेर बाहिरिएको थियो ।

खेलमा निरन्तर दबाब कायम राखेको चकरघट्टी फुटबल क्लवले कञ्चनजंघा फुङलिङ क्लव बिरुद्ध खेलको अन्तिम समय सम्मनै आक्रामक खेल खेल्यो । कञ्चनजंघा फुङलिङ क्लवका गोलरक्षक आकाश लिम्बूले चकरघट्टीका धेरै प्रहारलाई गोलमा परिणत हुनबाट बिफल बनाउनुभयो । तर खेलमा फर्कन नसक्दा आयोजक टिमले सुनसरीको चकरघट्टीलाई खेल सुम्पियो । दुईगोल गर्दै टिमलाई जिताउनु भएका आकाश खेलको म्यान अफ दी म्याच समेत बन्नुभयो । ८ वटा टिम सहभागी प्रतियोगिताको बिहीबार हुने दोस्रो खेलमा पाँचथर फुटबल क्लव पाँचथरले झापाको जलथल फुटबल क्वलवसंग प्रतिश्पर्धा गर्ने प्रतियोगिता सञ्चालन समितिका सहसंयोजक दिनेश लिङखिमले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ । त्यस्तै लिम्बू समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुषकाँड,हाक्पारे, ख्याली सहितका प्रतियोगिता हुने भएका छन् । च्याब्रुङतर्फ नाच तर्फको प्रथमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । त्यस्तै धान नाचतर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने भएको छ । चासोक तङ्नाम सञ्चालन समिति २०८० का अध्यक्ष चन्द्र थेबेले चासोक तङ्नामको महत्व र गरिमा अभिबृद्धिका लागि फुटबल प्रतियोगिता सहितका कार्यक्रम आयोजना भएको जानकारी दिनुभयो ।

यसअघि फुङलिङ नगरप्रमुख अमिर मादेनले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । उहाँले कला र संस्कृति मौलिक पहिचान भएकोले यसको संरक्षण र जर्गेनामा ध्यान दिने उद्देश्यले आयोजित प्रतियोगिता संस्कार बचाउने उपाय मध्येको एक भएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र मावो(गणेश)सहितले प्रतियोगिता सफलताको शुभकामना दिनु भएको थियो ।

चासोक तङ्नामको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको आयोजक कञ्चनजंघा फुङलिङ क्लवका अध्यक्ष अशोक थेबेले बताउनुभयो । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । किराँत समुदायअनुसार मानिस,जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

लिम्बू लोक संस्कृतिमा आधारित च्याब्रुङ बजाएर प्रतियोगिताको उद्घाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेन ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts