बुधवारबाट ताप्लेजुङमा हुने प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको सबै तयारी पूरा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ३ । बुधवारबाट ताप्लेजुङमा सुरु हुने आमन्त्रित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको सबै तयारी पूरा भएको आयोजक कञ्चनजंघा फुङलिङ क्लवले जनाएको छ ।

कार्यक्रम स्थल भानुजन मावि अम्विटारको खेल मैदानमा अस्थायी प्याराफिट निर्माण गरिएको र अन्य सबै व्यवस्थापनका कार्य पूरा भएको खेल संयोजक चन्द्र थेबेले जानकारी दिनुभयो । चासोक तङ्नाम पर्वको अवसरमा हुने प्रतियोगिता ११ गते सम्म सञ्चालन हुने थेबेले बताए । गोल्डकपमा ८ टिमले सहभागिता जनाउँदै छन् । सगरमाथा युथ क्लब मोरङ, बी.टि.फुटबल क्लब तेह्रथुम,जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र चक्रघट्टी फुटबल क्लब सुनसरीले सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ । त्यस्तै ताप्लेजुङ जिल्लाको प्रतिनिधित्व गर्दै कञ्चनजंघा फुङलिङ क्लबले खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ । त्यस्तै लिम्बू समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुषकाँड,हाक्पारे, ख्याली सहितका प्रतियोगिता हुने भएका छन् । च्याब्रुङतर्फ नाच तर्फको प्रथमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । त्यस्तै धान नाचतर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने भएको छ । बुधवार लिट्ल बुद्ध ईङलिस बोडिङ स्कुलमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा बृहत्त साङ्गतिक तथा सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । चासोक तङनाम सञ्चालक समिति र ङावोरक सङजुम्भो फुङलेङले कार्यक्रमको संयोजन समन्वय गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव ५६ लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका अध्यक्ष अशोक थेबेले जानकारी दिनुभयो । स्थानीय तह,कला र संस्कृतिलाई माया तथा सम्मान गर्ने देश बिदेशमा हुने दाता र बिभिन्न सहयोगीहरुबाट संकलित रकमका साथ खेल अवलोकनस्थलबाट संकलन गरिने टिकट वापतको रकमबाट उक्त स्रोत जुटाउने आयोजक समितिको भनाई रहेको छ । प्रतियोगिताको सेमीफाईनल अघिका सबै खेलको प्रवेश शुल्क जनही एकसय रुपैयाँ निर्धारण गरिएको समेत आयोजक संस्थाले बताएको छ ।
प्रतियोगितास्थल भानुजन माविको खेल मैदानमा तयार भएको दर्शक बस्ने अस्थायी प्याराफिट ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts