प्रजिअ पौडेलको घोषणा १० दिनमै सार्थक, ई–पासपोर्टको अनलाइन फारम ताप्लेजुङ प्रशासनले निःशुल्क भरिदिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १४ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबारदेखि प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(ई–पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासन कार्यालयका सूचना अधिकारी टंकबहादुर भट्टराईले प्रशासन कार्यालयले ई–पासपोर्टको अनलाइन फारम निःशुल्क भरिदिने गरी सेवा आरम्भ गरेको बताउनुभयो । उहाँका अनुसार प्रशासन कार्यालयको झ्याल नम्बर १५ बाट अब नियमित रुपमा यो सेवा प्रवाह हुने छ । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले गत मंसिर ५ गते प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(ई–पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिनेगरी सेवा सुरु गर्ने घोषणा गर्नु भएको थियो ।

ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारी भएर आएपछि ताप्लेजुङका सरोकारवालासंग जिल्लाको बस्तुस्थिति बुझ्ने क्रममा सञ्चारकर्मीसंगको भेटमा पौडेलले गरेको घोषणाले १० दिनमै सार्थकता पाएको छ । सञ्चारकर्मीहरुले राहदानी(ई–पासपोर्ट)को अनलाइन फारमका कारण सेवाग्राहीले अनावश्यक झञ्झट र प्रचलित दर भन्दा बढी खर्चिनु परेको गुनासो आएको बिषय प्रजिअ पौडेल समक्ष राखेका थिए । सोहि क्रममा पौडेलले यो व्यवस्था सुरु गर्ने बिषय आफुले पनि सोचिरहेको तर यसैबेलाबाट सुरु हुन्छ भनेर ठ्याक्कै मिति घोषणा भने गर्न नसकिने बताउनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts