| |

कार्यकर्ता रिहाइपछि आन्दोलनको कार्यक्रम फिर्ता

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १४ । आफ्ना कार्यकर्ता रिहाइ भएपछि पहिचान पक्षधरले मंगलबारदेखि सुरु गरेको बन्दसहित आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच बुधबार साँझ बसेको छलफलमा दुई पक्षीय सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।
गएको आइतबार एमाले सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईलाई कालो झण्डा देखाउने क्रममा पहिचान पक्षधरका कार्यकर्ता विपिन कङ्लिवा र आनन्द कङ्लिवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो । छलफलमा आन्दोलनका नाममा उछृङ्खल गतिविधि नगर्ने, कानुन तथा लोकतान्त्रिक पद्धतिलाई कार्यान्वयन गर्ने र पक्राउ परेकालाई विनासर्त रिहाइ गर्ने सहमतिपछि दुवैजनालाई बुधबार साँझ नै अर्थात ७ बजेपछि रिहाइ गरिएको छ ।
आफ्ना कार्यकर्ता रिहाइ भएपछि तत्कालका लागि आन्दोलन स्थगित गर्दै कार्यक्रम फिर्ता लिएको पहिचान पक्षधर प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बरबहादुर पालुङ्वाले जानकारी दिनुभयो । सहकर्मी पक्राउविरुद्धको आन्दोलनको कार्यक्रम फिर्ता भए पनि कोशी नामाकरणविरुद्धको आन्दोलन भने जारी रहेको पालुङ्वाले बताउनुभयो ।
प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितिले बुधबार साँझ नै प्रेस विज्ञप्ति प्रकाशित गर्दै पहिचानवादी योद्धाहरु रिहाइ भएपछि मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता लिएको उल्लेख गरिएको छ । सहकर्मी पक्राउविरुद्ध पहिचान पक्षधरले मंगलबार मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको थिए र बुधबार मेची राजमार्गको यातायात बन्द कायम राख्दै ताप्लेजुङ बन्द गराएका थिए ।
दुई दिनसम्म यातायात बन्द र पछिल्लो दिन बुधबार सदरमुकाम फुङ्लिङ बजार बन्द हुँदा जनजीवन प्रभावित बनेको थियो । यात्रुले गन्तव्यमा जान पाएका थिएनन् भने उपभोक्ता तथा व्यापारीले सामान खरिद बिक्री गर्न पाएका थिएनन् । यता फिर्ता भएपछि बिहीबार बिहानैदेखि यातायात खुलेको छ भने फुङ्लिङ बजार पनि खुलेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts