ताप्लेजुङमा आँखा शिविर ः साढे ४ सयको परीक्षण गर्दा सयजना मोतियाबिन्दुका बिरामी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १२ । ताप्लेजुङको फुङलिङमा सञ्चालित तीनदिने आँखा शिविर अन्र्तगत दुईदिनमै एकसय जनाको आँखाको शल्यकृया भएको छ ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरको तेस्रो दिन मंगलवार पनि शल्यकृया सेवा सञ्चालन हुने उपचार केन्द्रका क्लिनिक ईञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । डाक्टर रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाका नेत्र चिकित्सक डाक्टर सगुन मल्ल नेतृत्वको टोलीले उपचार गरिरहेको छ । शिविरमा उपस्थित संख्या हेर्दा मंगलवार पनि ठूलो संख्यामा मानिसहरु उपचारका लागि आउने संकेत देखिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका सभापति राजकुमार गुरुङले बताउनुभयो ।

क्लिनिक ईञ्चार्ज गुरुङका अनुसार सोमवार एकैदिन ६० जना मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यकृया गरिएको छ । पहिलो दिन आइतवार ४० जना मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यकृया गरिएको थियो । पहिलो दिन २ सय ४३ जनाले आँखाको परीक्षण गराएकोमा दोस्रो दिन १ सय ९० गरी दुईदिनमा ४ सय ३३ जना बिरामीको परीक्षण गरिएकोमा सयजना भने मोतियाबिन्दु भएका बिरामी थिए । कसैको दुबै आँखाको र कसैको एउटा मात्र आँखाको शल्यकृया गरिएको समेत आयोजक संस्थाले जानकारी दिएको छ ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङकै संयोजनमा मंसिर १४ र १५ गते पाँचथरको थर्पुस्थित याङ्वरक आँखा उपचार केन्द्रमा र १७ र १८ गते पाँचथरकै यासोक स्थित कुम्मायक आँखा उपचार केन्द्रमा शल्यकृया सहितको शिविर सञ्चालन हुँने भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङसंगको सहकार्यमा पाँचथरका कुम्मायक र याङवरक गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ । आठराई त्रिबेणी र मेरिङदेन गाउँपालिकाको सहयोगमा ताप्लेजुङको दोभान बजारमा सञ्चालित आँखा उपचार केन्द्रको संयोजनमा मिक्वाखोला र मैवाखोला गाउँपालिकाका सेवाग्राहीलाई समेत लक्षित गरी केहि समय पछि दोभान बजारमा शल्यकृया सहितको शिविर आयोजना गर्ने नेत्र ज्योति संघले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts