ठेक्का लागेको छ वर्ष सम्ममा पनि बनेन पक्की पुल, रोकियो सडक समृद्धि

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, मंसिर ३ । ठेक्का लागेको छ वर्ष अवधि पूरा हुँदासमेत तमोर नदी माथि (लिम्बूनी पुल नजिक) निर्माण हुने पक्की पुल बन्ने सुरसार नभएपछि जनदबाब बढाउन थालिएको छ ।

पाँचथरको हिलिहाङ र ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका जोड्ने पुल निर्माणका लागि ठेक्का लिएको कम्पनीले काम नगरेपछि स्थानीय जनप्रतिनिधि र प्रशासनले दबाब बढाएका छन् । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)को नेतृत्वमा जनप्रतिनिधिको टोली र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरुको टोलीले पुल निर्माणको प्रगति अवलोकन गरेको छ ।

‘प्रगति ज्यादै न्यून छ, लामो समयदेखि काम नै भएको छैन’ आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमूले भन्नुभयो । उहाँले जिम्मा लिएको काम पूरा गर्न निर्माण कम्पनीलाई पटक–पटक तागेता गर्दा पनि वास्ता नगरेकोले अन्तिम प्रयास स्वरुप तीव्र जनदबाब बढाइएको बताउनुभयो । यो अवस्था कायम रहँदा ताप्लेजुङ, पाँचथर र तेह्रथुम गरी तीन जिल्ला जोड्ने सडक समृद्धि नै रोकिएको उहाँले बताउनुभयो ।

पुल नबन्दा तमोर करिडोरसमेत ओझेलमा परेकोले निर्माण कम्पनीलाई तत्कालै काममा फर्काउने वातावरण तयार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । निर्माण कम्पनीलाई काममा फर्काउन पाँचथरको हिलिहाङ गाउँपालिकासहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनप्रतिनिधिहरुको संयुक्त पहल सुरु हुने पोमूले जानकारी दिनुभयो । निर्माणको जिम्मेवारी लिएको कम्पनीप्रति लक्षित गर्दै पोमूले भन्नुभयो ‘जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ, कामबाट भाग्न कसैले पाउँदैन ।’ पालिका अध्यक्ष हुनुभन्दा अघिबाट नै उहाँले पुल निर्माणको काममा ध्यान दिन निर्माण कम्पनीलाई दबाब दिँदै आउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नहुने बताउनुभयो ।‘यहाँको भूगोल र अवस्थाको बारेमा छलफल हुन सक्छ,तर लिएको जिम्मेवारीबाट पन्छिन मिल्दैन’पौडेलले भन्नुभयो । पुल निर्माण हुने क्षेत्रको एकातर्फको भाग पाँचथरको आङ्बुङतर्फ माथिबाट पहिरो समेत झर्न थालेपछि त्यसको व्यवस्थापन सहितको चिन्ता पौडेलमा थियो । स्थलगत अवलोकनमा पुग्नु भएका पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले ‘सडक लाइफ लाइन’को रुपमा रहेको पुल नबन्दा तीनैवटा जिल्लाको भाग्य खोसिएको अनुभूति आफुले गरेको बताउनुभयो ।

वारीपट्टि पाँचथरको आङ्वुहाङ,पारीपट्टि ताप्लेजुङको निघुरादिन हुँदै तेह्रथुमको ह्वाकुतर्फ प्रवेश गर्ने स्थल यहिँ हो । पक्की पुल नहुँदा अहिले आङ्बुङ र निघुरादिन प्रवेशमार्गमा पक्की पुल बन्ने स्थान नजिक रहेको झोलुङ्गे पुल माध्यम बनेको छ । आङ्बुङवारी निघुरादिनतर्फबाट दोभानसम्म जाने गरी तमोर करिडोरको सडकको ट्रयाक ओपन भएको छ । आङ्बुङतर्फ समेत तमोर करिडोर आईपुगेपनि पक्की पुलको अभावका कारण वारी–पारी सडक सञ्जाल जोडिएको छैन । तमोर करिडोर नेपाल,भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने नेपालकै छोटो मार्गको रुपमा परिचित छ । ‘यहिँ पक्की पुल निर्माण अभावले हामी र हाम्रो भाग्यमा अवरोध सृजना गरेको छ’आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका वडाध्यक्ष रामप्रसाद पाठकले भन्नुभयो ।

२०७४ साल फागुन ६ गते (भ्याट र पिएस सहित )२२ करोड ५ लाख ७७ हजार ८ सय ९० रुपैयाँमा सम्झौता भएको एम÷एस÷सपना÷याक्थुङ जेभी काठमाडौंसंग पुल निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता पछि निर्माण कम्पनीले निघुरादिनतर्फबाट पुलको बेस उठाउने र बीचमा एउटा पिलरको काम गरेपनि अरु काम गरेको देखिदैंन ।

स्थानीय बिजय गौतमले ठेकेदारले लापरवाही गरिरहे आफुहरुले गम्भिर कदम बारे सोच्न बाध्य हुने चेतावनी दिनुभयो । निरन्तरको खबरदारीप्रति उहाँले पालिका अध्यक्ष पोमू र स्थानीय प्रशासनप्रति आभार प्रकट गर्नु भएको छ । यता निर्माण कम्पनीका एक प्रतिनिधि पाँचथर निवासी तेज कुरुम्बाङलाई सम्पर्क गर्दा उहाँको फोन उठेन । पालिका अध्यक्ष पोमूले भने तीनैवटै जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनले निर्माण कम्पनीसंग छलफल गरी पुल निर्माणको काम तत्काल अघि बढाउन दबाब दिनेगरी संयुक्त छलफल गर्ने संकेत गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts