| |

कञ्चनजंघा क्षेत्रमा महिला पथप्रर्शकमाथि दुर्व्यवहार

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १८ । ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा महिला पथप्रदर्शक (गाइड)माथि दुर्व्यवहार भएको छ । कञ्चनजङ्घा भ्रमणमा आउने विदेशी पर्यटकहरुको पथप्रदर्शकको रुपमा आउनुभएकी महिलामाथि गएको मंगलबार दुर्व्यवहार भएको हो ।
पीडित महिलाले शनिबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा आफूमाथि दुर्व्यवहार भएको भन्दै उजुरी (जाहेरी) दिनुभएको छ । हिमालयन हव एड्भेन्चर प्रालि काठमाडौंमार्फत दुईजना विदेशी पर्यटकलाई लिएर आउनुभएकी पीडित महिलाले कञ्चनजंघा क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सास्थित बास बसेको एक होटलमा आफूलाई दुर्व्यवहार भएको भनी उजुरीमा उल्लेख गर्नुभएको छ ।
कञ्चनजंघा भ्रमणमा आउने विदेशी पर्यटकहरुकै अर्को टोलीमा रहेका ऋषिङ्ग गाउँपालिका–५ तनहुँका ४५ वर्षीय शिवबहादुर थापाले दुर्व्यवहार गरेको पीडित महिलाले बताउनुभएको छ । आरोपित थापा संलग्न रहेको विदेशी पर्यटक आएको कम्पनीको नाम नखुलेको र थापाले आफू भरिया रहेको बताए पनि खास जिम्मेवारीसमेत नखुलेको पीडित महिलाले जानकारी दिनुभयो । उहाँकाअनुसार प्राप्त भएको जानकारी अनुसार नै प्रहरीमा जाहेरी दिइएको छ ।
आरोपित थापालाई भने सोही दिन अर्थात मंगलबार नै घुन्सा प्रहरीचौकीले नियन्त्रणमा लिएको थियो । प्रहरी चौकीमा मुद्दा दर्ता नहुने भएपछि घुन्सादेखि दुई दिन लगाएर सदरमुकाम फुङ्लिङ आई जिल्ला प्रहरी कार्यालयमा थापाविरुद्ध उजुरी दिएको पनि पीडित महिलाले जानकारी दिनुभयो । यता आरोपित थापालाई सदरमुकाममै ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिनुभयो ।
पीडित महिलाको पथप्रदर्शकमा २१ दिने कञ्चनजंघा क्षेत्रको भ्रमण आएको विदेशी पर्यटकको टोली कात्तिक १४ गते मंगलबार घुन्सा पुगेको हो । त्यस्तै आरोपित थापा संलग्न रहेको ११ जनाको विदेशी पर्यटकहरुको टोली भने कात्तिक १३ गते सोमबार नै घुन्सा पुगेको थियो । घुन्सालाई कञ्चनजंघा हिमालको प्रवेशस्थलको रुपमा लिने गरिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts