११ जना महासमिति सदस्यका लागि काँग्रेस ताप्लेजुङमा २० जनाको उम्मेदवारी,सहमति नभए निर्वाचन हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १८ । सहमतिमै महासमिति सदस्य छान्ने प्रतिबद्धता जनाएको ताप्लेजुङ काँग्रेसमा ११ जना महासमिति सदस्यका लागि २० जनाको उम्मेदवारी परेको छ ।

२४ जना महाधिबेशन प्रतिनिधिमध्ये महासमिति सदस्यका लागि २० जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत रामकुमार थापाले जानकारी दिनुभयो । शुक्रवारबाट सुरु भएको नेपाली काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेलाले ११ जना महासमिति सदस्य चयन गर्दैछ । निर्वाचन अधिकृत थापाका अनुसार महासमिति सदस्यका लागि पदमसुन्दर पालुङवा,तिलप्रसाद सुब्बा,युवराज गुरुङ,बलबहादुर तामाङ,टीकाराम गुरुङ,गजेन्द्रप्रसाद तुम्याहाङ,खगेनसिंह हाङ्गाम,प्रतापप्रकाश हाङ्गाम,गीताकुमारी सेन्दाङको उम्मेदवारी परेको छ ।

यस्तै रीता सेनेहाङ,माला पालुङ्वा,लिलादेवी बोखिम लिम्बू,अमिर मादेन,बिश्वराज नाल्बो लिम्बू,राज थेबे,छोवाङ लण्डुक शेर्पा,इन्द्रकुमार केदेम,शिला इजम,कल्पनादेवी सिटौला र केशवप्रसाद दाहालको उम्मेदवारी परेको छ । महाधिबेशन प्रतिनिधिमध्ये मणि लामा,तारादेवी भट्टराई,युवराज बस्नेत र तेञ्जिङ शेर्पा वालुङले मात्र महासमिति सदस्यका लागि उम्मेदवारी दिनु भएको छैन । महाधिबेशन प्रतिनिधिमात्र महासमिति सदस्यको उम्मेदवार बन्न पाउँछन् ।

नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिमार्फत महासमिति सदस्यको टुङ्गो लाग्ने छ । काँग्रेसले जिल्ला अधिबेशन भएको करिव दुईबर्षपछि महासमिति सदस्य छान्न लागेको हो । काँग्रेसको जिल्ला अधिबेश २०७८ साल असोज १५–१६ गते फुङलिङमा सम्पन्न भएको थियो । ताप्लेजुङमा काँग्रेसका १ हजार ६४ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । नेताहरुले बिहानबाट महासमिति सदस्यको टुङ्गो लगाउन छलफल थालेका छन् । सर्वसहमतिको प्रयास हुने र सो नभए निर्वाचनमार्फत महासमिति सदस्य टुङ्गो लगाउने तयारी गरिएको छ । महासमितिलाई नेपाली काँग्रेसको नीति निर्माणको सबैभन्दा उपल्लो निकाय मानिन्छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts