| |

साहित्यकार टंक भट्टराईको ‘ठाँटीको घाम’ सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज २८ । साहित्यकार टंकबहादुर भट्टराईले लेख्नुभएको ‘ठाँटीको घाम’ नामक उपन्यास सार्वजनिक (विमोचन) गरिएको छ । दसैँको घटस्थापनाको अवसर पारेर सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रमकाबीच उक्त उपन्यासको सार्वजनिक गरिएको हो ।
ताप्लेजुङस्थित जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर)ले संयुक्त रुपमा उपन्यासको सार्वजनिक गर्नुभएको छ । हाल काठमाडौंको बुढानिलाकण्ठ निवासी साहित्यकार एवम् उपन्यासकार भट्टराईको ठाँठीको घाम नामक उपन्यास तेस्रो कृतिको रुपमा प्रकाशित भएको हो ।
ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका साहित्यकार भट्टराईले कर्मथलो (कार्यरतस्थल) रहेको क्षेत्रमा नै आफ्नो कृति उपन्यास सार्वजनिक गर्ने योजना बनाएर मुद्रणको कार्यलाई तीब्रता दिनुभएको थियो । आफ्नो योजनाअनुसार छोटो समयभित्रै कृति मुद्रणको कार्य सम्पन्न गरी हालको कर्मथलो ताप्लेजुङमै उपन्यासको सार्वजनिक गर्न सफल भएको पनि उपन्यासकार भट्टराईले बताउनुभयो । उहाँले प्रकाशित कृति ‘ठाँटीको घाम’ उपन्यासका विषयमा ताप्लेजुङबासीको तर्फबाट प्राप्त गरेको सकारात्मक सुझाव, हौसला र प्रसंसाप्रति आभार पनि व्यक्त गर्नुभएको छ ।
ठाँटीको घाम उपन्यासभित्र विभिन्न ५२ वटा खण्डमा छुट्टाछुट्टै कथा तथा विषयवस्तु समेटिएका छन् भने उपन्यास २४५ पृष्ठको रहेको छ । उपन्यासको समीक्षा स्थानीय साहित्यकार तथा लेखक शान्तिराम नेपाल र नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष आनन्त गौतमले गर्नुभएको थियो । उपन्यासको समीक्षा गर्दै नेपाल र गौतमले वर्तमान समय र सन्दर्भको उजागरसहित सन्देशमुलक, चेतनामुलक र पठनीय विषयवस्तु समावेश रहेको उल्लेख गर्नुभएको छ ।
ठाँटीको घाम उपन्यास रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो भने आवरण÷लेआउट सोलुसन ग्राफिक्स डिजाइनले गरेको छ । भट्टराईका यसअघि पहिलो कृतिको रुपमा ‘साँझमा पारिलो तारा–२०६७’ कविता सङ्ग्रह र दोस्रो कृति ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित भएका छन् । उपन्यास सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लामा, नगरप्रमुख मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष सुब्ब, मेरिङ्देन गाउँपालिका अध्यक्ष हाङ्गाम लगायतले साहित्यकार भट्टराईलाई बधाई दिँदै साहित्य लेखनमा निरन्तरताका लागि शुभकामनासमेत दिएका छन् ।
कञ्चनजंघा साहित्यिक प्रतिष्ठान ताप्लेजुङका अध्यक्ष कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको उपन्यास सार्वजनिक कार्यक्रममा फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, भीमकाली गुल्मका गुल्मपति सेनानी पवन नगरकोटी, ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलगायत सुरक्षा निकाय प्रमुखहरु, विभिन्न सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था, उद्योग बाणिज्य संघका प्रमुख, स्थानीय साहित्यकार, सञ्चारकर्मी, स्थानीय साहित्यकारसमेतको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts