आव २०७९।८० को एकबर्षे अवधिमा स्वास्थ्य संस्था बाहिर १० जनाको बालमृत्यु,४ जना गर्भवतिले ज्यान गुमाए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २६ । आर्थिक बर्ष २०७९।८० मा स्वास्थ्य संस्था भित्र मातृ तथा बाल मृत्युदर नभएको ताप्लेजुङमा स्वास्थ्य संस्था बाहिर भने १० जना बच्चाको मृत्यु भएको पाइएको छ । सो अवधिमा स्वास्थ्य संस्था बाहिर ४ जना गर्भवतिले ज्यान गुमाएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी उदयनारायण दुलालका अनुसार आव २०७९।८० मा स्वास्थ्य संस्था बाहिर सबैभन्दा बढी सिरिजङ्गा गाउँपालिकामा ६ जनाको बाल मृत्यु भएको थियो । दुलालका अनुसार त्यसपछि सिदिङ्वा गाउँपालिकामा २ जना तथा पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकामा १–१ जनाको मृत्यु भएको थियो । सो अवधिमा स्वास्थ्य संस्था बाहिर फुङलिङ नगरपालिकामा ३ र आठराई त्रिबेणी गाउँपालिकामा १ गरी ४ जना गर्भवति महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ । उपचारको पहुँचमा नआई,स्वास्थ्य संस्थाबाट फर्किएपछि वा उपचारका क्रममा ल्याउँदै गर्दा मृत्यु भएको तथ्याङ्कलाई स्वास्थ्य संस्था भन्दा बाहिर मृत्यु भएको तथ्याङ्मा समेटिन्छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख योगराज घिमिरेले स्वास्थ्य संस्था भित्रै बाल तथा मातृ मृत्यु हुनेको संख्या घट्दै गएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थाको पहुँचमा आइपुगेपछि आव २०७९।८० को एकबर्षे अवधिमा मातृ तथा बाल मृत्युको संख्या शुन्य रहेको घिमिरेले बताउनुभयो ।

महिला गर्भवती हुँदा वा बच्चा जन्माउने क्रममा वा कारणले हुने मृत्युलाई मातृ मृत्यु भनिन्छ । जन्मपश्चात २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशुको मृत्यु भएको मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गर्भावस्था र सुत्केरी भएको ४२ दिन (६ हप्ता) सम्मको अवधिमा गर्भवती वा सुत्केरीका कारणबाट हुने मृत्यु नै मातृ मृत्यु हो । स्वास्थ्य संस्थाहरुले यस्तो प्रकृतिको मृत्युलाई मातृ तथा बाल मृत्युको रुपमा परिभाषित गर्छन् । बाल मृत्युको प्रमुख कारणमहिना नपुग्दै जन्मने, जन्मदाँ कम तौल हुने,जन्मने क्रममा आउने जटिलता,नवजात शिशुमा हुने सेप्सिस,निमोनिया,झाडापखाला तथा मलेरिया आदिलाई प्रमुख कारण मानिएको छ ।

गर्भवति समयमा गरिने नियमित परीक्षण र परार्मश,पोषकतत्वको उचित प्रयोग,उचित स्याहारको समस्याले बाल तथा मातृ मृत्यु बढाउने कारण बनिरहेका छन् । यसबाहेक सुत्केरी गराउन स्वास्थ्य संस्था र दक्ष प्रसुतिकर्मीको पहुँचमा नजाँदा समेत आमा तथा बच्चा दुबैमा जोखिम देखिएको हुन्छ । ताप्लेजुङमा आर्थिक बर्ष २०७९।८० मा १ हजार ८ सय ५५ जना गर्भवति भएकोमा १ हजार ३९ जना ताप्लेजुङकै स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका छन् । १ सय ७७ जना भने घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts